समाज

मकवानपुरमा जमेको नालामा खसेर स्कुटर दुर्घटना, २५ वर्षीय युवकको मृत्यु

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ क्याम्पाडाँडा, मत्स्यपालन केन्द्र नजिक कान्तिलोकपथ सडकखण्डमा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

मंगलबार बिहान करिब ५ः३५ बजे सानोपोखराबाट क्याम्पाडाँडातर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०२८ प ९७८९ नम्बरको स्कुटर अनियन्त्रित भई सडकको उत्तर–पूर्वतर्फ रहेको पानी जमेको नालामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा स्कुटर चालक काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ घर भई हाल चौघडामा बस्दै आएका बालकुमार रञ्जितकारका छोरा अन्दाजी २५/२६ वर्षीय आवास रञ्जितकारको घटनास्थलमै मृत्यु भएको हो।

घटनाबारे स्थानीय मर्निङवाकमा निस्किएका व्यक्तिहरूले जिल्ला प्रहरी कार्यालय मकवानपुरको कन्ट्रोलमा खबर गरेपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रारम्भिक रूपमा इलाका प्रहरी कार्यालय सानोपोखराबाट खटिएको टोलीले घटनास्थल सुरक्षित राखेको थियो।

थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक उमाशंकर प्रसादको कमाण्डमा सोको टोली तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक रमेश विष्टको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

घटनाबारे जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमाण्डमा समेत प्रहरी टोली खटिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको थप कारणबारे अनुसन्धान भइरहेको छ।

प्रकाशित: २ भाद्र २०८३ १०:३९ मंगलबार