रोल्पामा मध्यान्ह १२ बजेसम्म करिब २५ प्रतिशत मतदान सम्पन्न भएको छ।
जिल्लाका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिएका छन्।
जिल्लामा कुल १ लाख ४९ हजार ५ सय ९७ मतदाता रहेका छन्। जसमा महिला ७४ हजार ९ सय ७ र पुरुष ७४ हजार ६ सय ९० छन्।
केन्द्रीय राजनीतिका शीर्ष नेताहरूले पनि बिहानै मतदान गरेका छन्। उम्मेदवार समेत रहेका पूर्वमन्त्री वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीले माडीचौरस्थित बालउदय मावि केन्द्रबाट मतदान गरे। अर्का पूर्वसभामुख कृष्णबहादुर महराले तारा मावि बामरुक केन्द्रबाट मत खसालेका छन्।
यसपटकको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को मतदान चर्चामा रह्यो। विगत १८ वर्षदेखि चुनाव बहिष्कार गर्दै आएका उनले यसपटक बालशिक्षा मावि थुनिकोट केन्द्रबाट मतदान गरेका छन्।
रोल्पामा यसपटक विभिन्न दल र स्वतन्त्र गरी १० जना उम्मेदवार चुनावी मैदानमा छन्।
प्रकाशित: २१ फाल्गुन २०८२ १२:३९ बिहीबार