समाज

काभ्रेमा दुई बस ठोक्किँदा २५ जना घाइते

काभ्रेको धुलिखेलमा दुई यात्रुवाहक बस एकआपसमा ठोक्किँदा २५ जना घाइते भएका छन्। बुधबार बिहान धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा ५ ख २९७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको बा ३ ख ५०६४ नम्बरको बस एकआपसमा ठोक्किएर दुर्घटना भएको हो। 

दुर्घटनामा घाइते भएका २५ जनामध्ये २१ जनालाई उपचारका लागि बनेपास्थित शीर मेमोरियल अस्पताल र चार जनालाई धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ। 

शीर मेमोरियल अस्पतालमा उपचाररत २१ जनामध्ये केहीको अवस्था मध्यम रहेको छ भने अधिकांशको अवस्था सामान्य छ। मध्यम अवस्था रहेका घाइतेमा मनिष पहरी, उर्मिला महत, देवकी निरौला, कल्पना खत्री, अभिनाश खड्का र असिम पन्त रहेका छन्। 

त्यस्तै, धुलिखेल अस्पतालमा उपचाररत चारै जनाको अवस्था सामान्य रहेको छ। उनीहरूमा काभ्रेको भुम्लु गाउँपालिकाका सबिना खड्का र सानिया खड्गी, पाँचखालका रोहन आचार्य तथा दोलखाको मेलुङ गाउँपालिकाकी सुनिता थपौलिया रहेका छन्।

घाइतेमध्ये बालबालिका तथा किशोरकिशोरीसमेत रहेका छन्। दुर्घटनामा परेका अधिकांशको टाउको, मुख, हात र खुट्टामा चोट लागेको छ। 

दुर्घटनापछि प्रहरीले दुवै बस र तिनका चालकलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

प्रकाशित: २६ कार्तिक २०८३ १५:२५ बिहीबार