समाज

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २४ जना पक्राउ, होल्ड भए २ हजार ५९७ सवारी

देशभरका विभिन्न मतदानस्थलमा निर्वाचन आचारसंहिता विपरीत तथा निर्वाचन विरोधी गतिविधिमा संलग्न २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार काठमाडौं उपत्यकाबाट एकजना, कोशी प्रदेशबाट तीनजना, मधेस प्रदेशबाट चारजना, बागमती प्रदेशबाट सातजना, गण्डकी प्रदेशबाट तीनजना, लुम्बिनी प्रदेशबाट एकजना, कर्णाली प्रदेशबाट एकजना र सुदूरपश्चिम प्रदेशबाट चारजना गरी उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

निर्वाचनको समयमा आचारसंहिता विपरीत गतिविधिमा संलग्न भएकाले उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यसैगरी, निर्वाचन अवधिमा आचारसंहिता उल्लंघन गर्दै अनुमतिबिना सञ्चालन गरिएका २ हजार ५९७ सवारीसाधन पनि प्रहरीले होल्ड गरेको छ।

प्रहरीका अनुसार होल्ड गरिएका सवारीसाधनमध्ये २ हजार ३५१ वटा दुईपाङ्ग्रे र २४६ वटा चारपाङ्ग्रे रहेका छन्।

 

 

प्रकाशित: २१ फाल्गुन २०८२ २२:०० बिहीबार