जिल्लाको चुरे क्षेत्रमा रहेको स्थानीय तहहरूले ठेक्का लगाएको नदी जन्य पदार्थको उत्खनन् कार्यमा ठेकेदारहरूले मनोमानी गरेको देखिए पनि उनीहरूलाई कारवाही गर्ने प्रहरी, प्रसाशन देखि स्थानीय निकाय निरीह बनेको गुसानो गरिएको छ।
खोलाबाट नदीजन्य पदार्थको उत्खनन् गर्न कार्यमा स्थानीय निकायबाट एउटा स्काभेटर प्रयोग गर्ने अनुमति पाएका ठेकेदारले खोलामा आधा दर्जन स्काभेटर प्रयोग गरिदै आएका छन् । ठेकेदारहरूबाट आर्थिक लाभको लिनको लागि नाम मात्रको कारवाही गरिदा ठेकेदारहरूको मनोबल बढेको बताइएको छ।
जितपुरसिमरा उपमहानगरपालिकाबाट दुधौरा खोलाको नदीजन्य पदार्थको ठेक्का सकार गरेको सिमराको श्रेष्ठ बिल्डर्सका सञ्चालक लालबहादुर श्रेष्ठले खोलाबाट नदी जन्य पदार्थ उत्खनन् गर्न एउटा स्काभेटर प्रयोग गर्न अनुमति लिएका छन् तर दुधौरा खोलाको तीनवटा स्थानमा आधा दर्जन स्काभेटर प्रयोग गर्दै आएका छन्।
जितपुरसिमरा उपमहानगरपालिकाका ईन्जिनियर संजिव रुपाखेतीले दुधौरा खोलाबाट नदीजन्य पदार्थ निकाल्नको लागि श्रेष्ठ बिल्डर्सलाई एउटा स्काभेटर प्रयोग गर्न अनुमति दिए पनि ठेकेकारले बढि स्काभेटर प्रयोग गरेर आफु खुशी उत्खनन् गर्ने गरेको बताएका छन्।
ठेकेदारले आफु खुशी नदीजन्य पदार्थ उत्खनन् गराएको लिखित रुपमै जितपुरसिमरा उपमहानगरपालिका जिम्मेवार पदाधिकारीहरूलाई जानकारी गराएपनि ठेकेदारलाई कारवाही नगरिएको रुपाखेतीले बताए।
ठेकेदारहरूले एउटा स्काभेटर प्रयोग गर्नुको साटो बढी स्काभेटर प्रयोग गरेर ठेक्का सम्झौता भन्दा बढी नदीजन्य पदार्थ उत्खनन् गरेर बिक्री र खोला छेउँमै भण्डारण समेत गर्ने गरेका छन्।
नदीजन्य पदार्थको ठेक्का सकार गरेका ठेकेदारहरु मापदण्ड बिपरीत खोलाहरू उत्खनन् गरेको देखेपनि जितपुरसिमराका प्रमुख डा. कृष्ण पौडेलले नदेखे जस्तै गरेको डुबरवानाका स्थानीयहरुले गुसानो गरेका छन्।
जितपुरसिमरा उपमहानगरपालिका प्रमुख कृष्ण पौडेलले दुधौरा खोलाहरुबाट नदीजन्य पदार्थ उत्खनन् गर्न ठेकेदारले एउटा स्काभेटरको अनुमति लिएको र एक भन्दा बढि स्काभेटर प्रयोग गरेपछि अनुगमन गरेर कारवाही गर्ने बताएका छन्।
खोलाबाट दिउँसो नदीजन्य पदार्थ निकाल्न कागजी अनुमति पाएको भएपनि ठेकेदारहरुले राती राती समेत खेलाहरुबाट नदीजन्य पदार्थ उत्खनन् गर्ने गरेका छन्।
गत माघ १६ गते बालगंगा, दुधौरा र पसाह खोलाहरुबाट ठेकेदारहरूले मापदण्ड बिपरित नदीजन्य पदार्थको उत्खनन् गरेको भन्दै जिल्ला समन्वय समिति प्रमुख सिँह र बाराका तत्कालिन प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले ठेकेदारहरुले खोलामा प्रयोग गरेको स्काभेटर र टिपरहरुलाई नियन्त्रणमा लिएर ठेकेदार र जितपुरसिमरा, कोल्हवी र निजगढ गरि तीनवटै स्थानीय निकायका प्रमुखहरूलाई मापदण्ड भित्रमा रहेर नदीजन्य पदार्थ उत्खनन् गर्न सचेत गराएर छोडिएका थियो।
पहिला सचेत गराएर छोडिएका ठेकेदारहरूले फेरी खोलाहरूबाट मापदण्ड बिपरीत नदीजन्य पदार्थको उत्खनन् गरेको गुसानो भए पनि जेठ १८ गते जितपुरसिमरा उपमहानगरपालिका अन्तर्गत रहेको बालगंगा, दुधौरा र पसाह खोलाहरुमा , जेठ २० गते निजगढ र कोल्हवीको लालबकैया खोलामा समेत अनुगमन गरिएको थियो।
अनुगमनको क्रममा ठेकेदारहरूले मापदण्ड बिपरित नदी जन्य पदार्थको उत्खनन् गरेको भन्दै जिल्ला समन्वय समिति बाराका प्रमुख नवलकिशोर सिँहको नेतृत्वमा रहेको खोलाहरूको अनुगमन समितिले जितपुरसिमरा उपमहानगरपालिकको दुधौरा, बालगंगा र पसाह खोलाको ठेकेदारलाई कारवाही स्वरुप एक/एक लाख जरिवाना गर्ने निर्णय गरेको थियो भने निजगढको लालबकैया खोलाको ठेकेदारलाई तीन लाख र कोल्हवीको लालबकैया खोलाको ठेकेदारलाई एक लाख जरिवाना गरिएको छ। ।
समितिले बालगंगा खोलाको नदीजन्य पदार्थको ठेक्का सकार गरेको हेटौँडाको न्यु पाथीभारा सप्लार्यस, दुधौरा खोलाको नदीजन्य पदार्थको ठेक्का सकार गरेको सिमराको श्रेष्ठ बिल्डर्स एक लाख तिराएपनि अहिले पनि मापदण्ड बिपरीत नै ती खोलाबाट नदीजन्य पदार्थ उत्खनन् भैरहेको छ।
बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले खोलाहरूमा सहमति लिएको भन्दा बढि स्काभेटर प्रयोग गरेको पाइएमा ठेकेदारलाई कारवाही गर्ने प्रतिबद्धता गरेका छन्।
मापदण्ड बिपरीतको उत्खननले खोला क्षेत्रको वन, बस्ती जोखिनमा पर्नुको साथै र नदीहरूले धार समेत परिवर्तन गर्ने डर भएपछि ठेकेदारहरूलाई प्रारम्भिक वातावरणीय प्रभाव प्रतिवेदन अनुसार नै खोलानालाबाट नदीजन्य पदार्थ उत्खनन् गर्न भनिएपनि उनीहरु अटेरी गरेपछि कारवाही गर्न तिर समिति लागेको जिल्ला समन्वय समितिका प्रमुख नवलकिशोर सिँहले तर्क गरेका थिए।
जिल्ला समन्वय समिति बाराका प्रमुख नवलकिशोर सिँहको नेतृत्वमा रहेको अनुगमन समितिमा बाराका प्रमुख जिल्ला अधिकारी रुद्र पण्डित, बाराका प्रहरी उपरीक्षक कृष्ण पगेनी, सशस्त्र प्रहरी उपरीक्षक दिगबिजय सुवेदी रहेका छन्।
प्रकाशित: २२ जेष्ठ २०७७ १४:०२ बिहीबार