समाज

बाढीमा बगेका थप २१ वटा शव पशुपतिको जंगलमा व्यवस्थापन

रसुवा बाढीले बगाएर संकलन भएका शव मध्येमा थप २१ वटा पशुपति जंगलमा व्यवस्थापन गरिएको छ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा विभिन्न ठाउँबाट संकलन भएका शव मध्येमा पहिलो चरणमा १ सय ६१ वटा र शुक्रबार दिउँसो २१ वटा शव व्यवस्थापन गरिएको हो।

बाढीबाट फेला परेको शव व्यवस्थापन संयोजक तथा प्रहरी केन्द्रीय कार्यालयका डिआइजी ओम बहादुर रानाको अनुसार यस पहिलो चरणमा गोकर्णेश्वरको जंगलमा व्यवस्थापन गरिएको हो।

अस्पतालमा नअटाउने, बाढीमा बगेको कारण अनुहार पहिचान हुन नसक्ने र अति सडेका शवहरू जमिनमुनि व्यवस्थापन गरिएको उनले बताए।

जमिनमा व्यवस्थापन गर्नुअघि डिएनए परीक्षणको लागि शवबाट नमुना निकाली शवमा नम्बर ट्याग गरिएकोले पछि आफन्तसँग डिएनए मिलेपछि निकाल्न मिल्ने गरी व्यवस्थापन गरेको विभागले जनाएको छ।

विभागमा शुक्रबार सम्ममा कुल २ सय ६५ वटा शव संकलन भएका छन्। ती मध्येमा २४ वटा पहिचान भई आफन्तले सनाखत गरेका छन्।

शुक्रबार थप ४७ वटा शव नुवाकोट र रसुवाबाट प्राप्त भएका हुन्। कुल शव मध्येमा २४ वटा पहिचान भई आफन्तले लिइसकेका छन्। यो हिसाबले शुक्रवारसम्ममा १ सय ८२ वटा शव जंगलमा व्यवस्थापन गरिएको हो।

कुल शव मध्येमा १ सय ७४ जनाको पोस्टमार्टम भइसकेको छ। बाँकी शवहरू अस्पतालको फि«जमा  राखिएको डिआइजी रानाले जानकारी दिए।

पछिल्ला शवहरू धेरे सडेको हुनाले शव व्यवस्थापनका खटेका कर्मचारीलाई दुर्गन्धले अति कठिन भइरहेको संयोजक रानाले बताए।

प्रकाशित: १९ भाद्र २०८३ १८:५२ शुक्रबार