समाज

वर्षाका कारण २१ जनाको मृ*त्यु, पाँच घाइते, पाँच बेपत्ता

भारी वर्षा, बाढीपहिरो र अविरल वर्षाजन्य घटनामा परी २१ जनाको मृत्यु भएको छ। यस्तै, पाँच जना घाइते भएका छन् भने पाँच जना अझै बेपत्ता छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका ५३ घटनामा चार जनाको मृत्यु भएको छ। पहिरोका २५६ घटनामा १४ जनाको मृत्यु, चार जना घाइते र पाँच जना बेपत्ता भएका छन्। त्यसैगरी, अविरल वर्षाका ११७ घटनामा तीन जनाको मृत्यु र एक जना घाइते भएका छन्।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बङ्गालको खाडीमा उत्पन्न न्यूनचापीय प्रणालीका कारण असोज ८ देखि ११ गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा भएको थियो। प्राधिकरणको पछिल्लो विवरणअनुसार वर्षाजन्य विपद्मा २१ जनाको मृत्यु, पाँच जना बेपत्ता र पाँच जना घाइते भएका हुन्।

बाढी र पहिरोका कारण देशभर १४३ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ५१ घरमा आंशिक क्षति पुगेको छ। विपद्का कारण ७४७ परिवार प्रत्यक्ष प्रभावित भएका प्राधिकरणले जनाएको छ। जोखिममा परेका विभिन्न जिल्लाबाट करिब दुई हजार जनालाई सुरक्षित स्थानमा सारिएको छ।

निरन्तर वर्षाका कारण देशभरका १८६ वटा वर्षामापन केन्द्रमा १०० मिलीमिटरभन्दा बढी वर्षा मापन भएको छ। सबैभन्दा धेरै नवलपरासी (बर्दघाट सुस्तापूर्व)को डेढगाउँमा ५४४ दशमलव दुई मिलीमिटर वर्षा भएको छ। कास्कीको पञ्चासेमा ५०० दशमलव दुई र तनहुँको अत्रौलीटारमा ४७२ मिलीमिटर वर्षा मापन गरिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रवक्ता महतका अनुसार वर्षाका समयमा करिब नौ हजार पर्यटक तथा पदयात्री विभिन्न स्थानमा यात्रारत रहेका थिए। जाजरकोट, म्याग्दी, बागलुङलगायत जिल्लामा बाढी तथा पहिरोमा फसेका व्यक्तिलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। उद्धार गरिएका व्यक्तिका लागि सम्बन्धित जिल्ला प्रशासनको समन्वयमा स्थानीय तहमार्फत आवश्यक बन्दोबस्ती तथा राहतको व्यवस्था गरिएको छ।

भारी वर्षाको पूर्वानुमानसँगै प्राधिकरणले पूर्वतयारी तथा प्रतिकार्यका लागि सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन आग्रह गर्दै नियमित सूचना तथा एड्भाइजरी जारी गरेको थियो। सम्भावित बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सचेत गराउन बाढी पूर्वानुमान महाशाखाबाट आठ लाख १४ हजार एसएमएस पठाइएको थियो।

पर्वतारोहण तथा पदयात्रामा रहेका पर्यटकलाई लक्षित गरी अङ्ग्रेजी भाषामा समेत सतर्कता सूचना जारी गर्दै जोखिमयुक्त क्षेत्रमा रहेकालाई सुरक्षित स्थानमा जान र सुरक्षित स्थानमा रहेकालाई त्यहीँ रहन आग्रह गरिएको थियो।

केन्द्रीय मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक दैनिक बसेर परिस्थितिको समीक्षा गरिएको थियो। जोखिम देखिएका जिल्लामा आवश्यकताअनुसार सवारी आवागमनमा रोक लगाउन निर्देशन दिइएको तथा सम्भावित प्रभावित जिल्लामा स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिमार्फत विद्यालय बिदा दिइएको प्राधिकरणले जनाएको छ।

प्रकाशित: १२ आश्विन २०८३ ०७:२४ सोमबार