समाज

स्कुल बसको ठक्करबाट २ वर्षीय बालकको मृत्यु

सर्लाहीमा स्कुल बसको ठक्करबाट एक अबोध बालकको ज्यान गएको छ।

बागमती नगरपालिका–२ सानो डाबरीको एनसेल टावरनजिकै बिहीवार बिहान स्कुलले बसको ठक्करबाट श्यामलाल गोलेका २ वर्षीय छोरा यनस गोलेको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले दिएको जानकारी अनुसार ना.१ क ७३८२ नम्बरको सगुन शिक्षा आवासीय विद्यालयको बसको ठक्करबाट बालक यनसको घटनास्थलमै मृत्यु भएको छ।

प्रहरीका अनुसार उक्त बस जिरायतबाट हरिवनतर्फ जाँदै गरेको थियो। इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीको टोली घटनास्थलमा खटिएका छन्।

प्रहरीले बस र चालक हरिवन नगरपालिका–११ प्रगति टोलका ५० वर्षीय सूर्यबहादुर थापालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय हरिवनमा राखेको बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: ५ चैत्र २०८२ १३:१४ बिहीबार