समाज

काठमाडौंमा एक वर्षमा २७ सय बढी आगलागी, मुख्य कारण बिजुली ‘सट’

पछिल्लो एक वर्षको अवधिमा काठमाडौं जिल्लामा दुई हजार ७ सय भन्दा बढी आगलागीका घटना भएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले सर्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा कुल दुई हजार ७२२ वटा आगलागीका घटना दर्ता भएका छन्।

त्यसमध्ये सबैभन्दा बढी बिजुलीको पोल र ट्रान्सफर्मर तथा घररकोठा र मिटरबक्समा विद्युत् ‘सट’, भएर आगलागी भएका छन्।

एक वर्षको अवधिमा बिजुलीका पोल र ट्रान्सफर्मर आगलागीका एक हजार ८७६ र घरमा ४०७ वटा आगलागी भएको काठमाडौं परिसरले जनाएको छ।

यस्तै, ग्यास चुहावट भएर ४५, वन जङ्गलमा ६८ र अन्य कारणबाट ३२६ वटा आगजनीको घटना भएको परिसरका वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।

आगलागीको जानकारी पाउनासाथ तत्काल अन्य निकायसँग समन्वय गरेर प्रतिकार्यमा प्रहरी जनशक्ति खटिइएको उनको भनाइ छ।

प्रकाशित: २८ श्रावण २०८२ १७:३८ बुधबार