समाज

दूधमा अनुदानवापत २१ लाख ५५ हजार वितरण

यहाँको आँबुखैरेनी गाउँपालिकाले स्थानीय दुग्ध उत्पादक कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरेको ‘उत्पादनमा आधारित दुग्ध अनुदान कार्यक्रम’ अन्तर्गत २१ लाख भन्दा बढी रकम वितरण गरेको छ।   

गाउँपालिकाले चालु आर्थिक वर्षको प्रथम र दोस्रो चौमासिकको अवधिमा २१ लाख ५५ हजार एक सय ४२ कृषकलाई वितरण गरेको हो।  गाउँपालिकाभित्रका कृषकले यस अवधिमा कूल तीन लाख ५९ हजार १९० लिटर दूध उत्पादन गरेका छन्। उत्पादनका आधारमा प्रति लिटर रु छ का दरले कूल २१ लाख ५५ हजार १४२ गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले कृषकलाई हस्तान्तरण गरे।  

अध्यक्ष चुमानले कृषकलाई उत्पादनसँग जोडेर प्रत्यक्ष लाभ दिने नीतिअन्तर्गत अनुदान वितरण गरिएको बताए। उनले कृषि तथा पशुपालन क्षेत्रलाई गाउँपालिकाको आर्थिक विकासको प्रमुख आधारका रूपमा लिइएको उल्लेख गर्दै उत्पादन बढाउने कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिइने बताए।   

अध्यक्ष चुमानले कृषकले उत्पादन गरेअनुसार प्रत्यक्ष लाभ पाउने व्यवस्था गरिएकाले यसले दुग्ध उत्पादन वृद्धि गर्न थप प्रेरणा दिएको बताए। उनले रकम कृषकहरूको हातमा पुगेको  र उनीहरूको आर्थिक अवस्था सुदृढ बनाउन सहयोग पु¥याउने विश्वास लिएको बताए।   

उनले आगामी दिनमा उत्पादनमुखी र कृषकमैत्री कार्यक्रमलाई प्राथमिकता दिइने बताए।   

प्रकाशित: २८ जेष्ठ २०८३ १६:५५ बिहीबार