समाज

थप १९२ जना कैदी नियन्त्रणमा

नेपाली सेनालगायत अन्य सुरक्षा निकायहरू परिचालन भएपश्चात भदौ २५ गते बेलुका ६ देखि आज बिहान ६ बजेसम्म थप १९२ जना कैदीहरूलाई नियन्त्रणमा लिइएको छ।

नेपाली सेनाले आज विज्ञप्तिमार्फत सप्तरीको राजविराज स्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका १९२ जना कैदीलाई नियन्त्रणमा लिएको जनाएको छ।

त्यसैगरी कञ्चनपुरको चाँदनीमा भारतीय सीमा सुरक्षा बलले भारततर्फ जाँदै गरेका सात जना कैदीलाई नियन्त्रणमा लिई सेनालाई बुझाएको छ। एक जना कैदीलाई स्थानीयले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयलाई बुझाएको र १२ कैदी आफैँ कारागारमा हाजिर भएका छन्।

रामेछापस्थित जिल्ला कारागारमा कैदीले बाहिर जान पाउनु पर्ने भन्दै गरेको झडपलाई नियन्त्रणमा लिनका लागि सेनाले चलाएको गोली लग्दा १२ जना कैदी घाइते हुनुका साथै दुई जनाको मृत्यु भएको छ।

त्यसैगरी, काभ्रेपलाञ्चोकको बनेपा–९ स्थित नयाँ बस्तीमा फेला परेको शङ्कास्पद बस्तु नेपाली सेनाले सुरक्षित साथ डिस्पोज गरेको छ। हालसम्म ९४ नाल विभिन्न हतियारहरू बरामद भएको सेनाले जनाएको छ।  

प्रकाशित: २६ भाद्र २०८२ १२:५८ बिहीबार