समाज

प्रभावकारी बन्दै किशोर-किशोरी मैत्री स्वास्थ्य सेवा

किशोर किशोरी मैत्री स्वास्थ्य सेवा प्रदान गरिरहेको कोर्चाबाङ स्वास्थ्य चौकि। फोटो दिनेश नागरिक

रोल्पा - किशोर किशोरीहरुमा हुने प्रजनन् दरलाई घटाउने उद्देश्यले सुरु गरेको किशोर किशोरी मैत्री स्वास्थ्य सेवा रोल्पामा प्रभावकारी बनेको छ। जिल्लाका २६ स्वास्थ्य संस्थामा सञ्चालित सेवा प्रभावकारी मानिएपछि ५ वटा संस्था प्रमाणीकरणमा समेत परेका छन्। किशोर किशोरी प्रजनन दरलाई घटाउने उद्देश्यले सरकारले सन २००० देखि सुरु गरेको किशोर किशोरी मैत्री यौन तथा प्रजनन स्वास्थ्य सेवा रोल्पामा प्रभावकारी बनेको हो।

जिल्लाका २६ वटा स्वास्थ्य संस्थाले यो सेवा प्रदान गर्दै आइरहेकोमा सरकारले प्रभावकारी भए नभएको बारे प्रमाणीकरण गर्दा रोल्पाका ५ वटा स्वास्थ्य संस्था प्रमाणीकरणमा परेको छन्। जिल्लाको खुमेल स्वास्थ्य चौकी, लिबाङ स्वास्थ्य चौकी र कोटगाउँ स्वास्थ्य चौकी गत वर्षनै प्रमाणीकरणमा परेकोमा यस वर्ष कोर्चाबाङ स्वास्थ्य चौकी र गैरिगाउँ स्वास्थ्य चौकी प्रमाणीकरणमा परेका हुन।

सरकारले निर्माण गरेका आधुनिक भवन भित्र सुरु गरिएको किशोर किशोरी मैत्री स्वास्थ्य सेवा सफल बनाउन स्थानीय सरकारले पनि चासो दिएको छ। ‘भोलीका कर्णधार किशोर किशोरीहरुलाई उत्पादनशिल र सक्षम बनाउन आजैदेखि उनिहरुको स्वास्थ्यमा चासो दिनु जरुरी छ।’ माडी गाउँपालिका ६ कोर्चाबाङका वडा अध्यक्ष खर्क बहादुर पुनले भने ‘स्वास्थ्य सस्था र जनताको आबस्यकता अनुसार हामीले गर्न सक्ने सहयोग गरिरहेका छौ।’

यो सेवाबाट किशोर किशोरीहरको स्वास्थ्य समस्यालाई घटाउन सहयोग पुग्ने परिवार स्वास्थ्य महाशाखाका चेतराज पण्डितले बताए। उनले भने ‘किशोर किशोरीको सेवाको पहुच बढाउने उद्येश्यले यस्ता कार्यक्रमहरु सुरु गरिएको हो।’ जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख गोविन्द प्रसाद श्रेष्ठका अनुसार किशोरी मैत्री यौन तथा प्रजनन स्वास्थ्य सेवाले जिल्लामा जटिल समस्याको रुपमा रहेको बाल विवाहलाई कम गर्नुका साथै उनीहरुलाई पर्ने प्रजनन स्वास्थ्य समस्यामा सुधार आउने छ। उनले भने ‘तालिम प्राप्त कर्मचारीबाट किशोर किशोरीले सेवा पाउछन जसले गर्दा उनिहरु जोखिममा पर्ने सम्भाबना कम हुन्छ।’

गाउँकै स्वास्थ्य सस्थामा यो सेवा सुरु भएपछि आफूहरुले किशोरावस्था र प्रजनन स्वास्थ्यका बारेमा ढुक्कसँग बुझ्न पाएको किशोर किशोरीहरुको बताउँछन। जिल्लाका २६ वटा स्वास्थ्य संस्थामा उक्त सेवा सञ्चालनका लागि संयुक्त राष्ट्र संघिय जनसंख्या कोष (युएनएफपीए)ले पनि सहयोग गर्दै आएको छ।

प्रकाशित: २९ भाद्र २०७६ ०३:३६ आइतबार

किशोर-किशोरी स्वास्थ्य_सेवा