समाज

२४ घण्टामा सवारी दुर्घटनाबाट १९ जनाको मृ’त्यु

देशका ६ जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १९ जनाको मृत्यु भएको छ।

मकवानपुर, धादिङ, झापा, कास्की, सर्लाही र सिराहामा भएका दुर्घटनामा परी अन्य १५ जना घाइते भएका छन्। सबैभन्दा ठूलो दुर्घटना मकवानपुरको भीमफेदीमा भएको हो। यहाँ ईभी हायस दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै ज्यान गएको छ।

मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानी गढीस्थित सडकमा काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको म.प्र.०३-००१ ज ०८८० नम्बरको ईभी हायस बिहीबार बिहान करिब ५ सय मिटर तल खसेको थियो।

दुर्घटनामा चालक सर्लाही कबिलासी गाउँपालिका-८ बस्ने ३० वर्षीय रवि शंकर कुमार मण्डलसहित १४ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ज्यान गुमाउने अन्यमा सर्लाही चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुर टोलका २६ वर्षीय बिकेश यादव, ३५ वर्षीया पुनम यादव, ७ वर्षीया दिक्षा यादव, ५ वर्षीया दिपिका यादव, १० वर्षीया अनु कुमारी यादव, ३५ वर्षीय गुड्डु यादव, ३२ वर्षीया गायत्री देवी, २५ वर्षीय राम दुलार यादव, २४ वर्षीय सुबोध यादव, १५ वर्षीय रोहन यादव र पहिचान नखुलेका ३ जना छन्।

गम्भीर घाइते भएका ३ जनामध्ये २ जनालाई काठमाडौंस्थित मेडिसिटी अस्पताल र १ जनालाई भरतपुरस्थित मनकामना अस्पताल पठाइएको छ।

कास्कीको पोखरा महानगरपालिका-२३ दुण्डेफाँटमा ग.४ च १३४४ नम्बरको जिप अनियन्त्रित भएर दुर्घटना हुँदा २३ वर्षीय मिलन गुरूङको मृत्यु भएको छ।

पर्वत घर भई पोखरा-२४ बस्ने उनको उपचारको क्रममा जिएमसी अस्पतालमा बिहीबार बिहान मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका अन्य १२ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ।

उता धादिङको नीलकण्ठ नगरपालिका-१ ढुसेनीमा बा.प्र.०२-०६८ प ७८३१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक १८ वर्षीय दिपराज गुरूङको बैरेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।

झापाको मेचीनगर नगरपालिका-१५ चौधरी चोकमा प्र १-०१-००३ ह ११०२ नम्बरको सिटीको ठक्करबाट पैदलयात्री ७० वर्षीया लटन राजवंशीको उपचारका क्रममा ज्यान गएको छ। प्रहरीले सिटी चालकलाई नियन्त्रणमा लिएको छ।

त्यस्तै, सर्लाहीको बागमती नगरपालिका-१२ बोटे टोलमा को.११ प ३७९५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक २५ वर्षीय रूपक विश्वकर्माको मृत्यु भएको छ। 

मोरङ घर भएका उनको नमुना अस्पताल हरिवनमा उपचारका क्रममा मृत्यु भएको हो। सिराहाको औरही गाउँपालिका-५ गागनपुलमा अनटेस्ट मोटरसाइकल दुर्घटना हुँदा १५ वर्षीय चालक सिकिन्द्र यादवको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।

सबै दुर्घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २६ कार्तिक २०८३ १७:०७ बिहीबार