समाज

हुरीपीडिद्वारा गाउँपालिका घेराउ

बारा - फेटा गाउँपालिकाको भलुही भरवलियाका हुरीपीडितले घर निर्माणको सूचीमा नाम छुटेपछि सोमबार फेटा गाउँपालिका कार्यालय घेराउ गरेका छन्। हुरीपीडितले गाउँपालिकाको कार्यालय घेराउ गर्ने क्रममा गाउँपालिका अध्यक्षका समर्थकसँग झडपसमेत भएको छ। झडपमा कार्यालयका फर्निचर तोडफोड हुनुका साथै श्रीप्रसाद बैठाको टाउकोमा चोट लागेको बारा प्रहरीले जनाएको छ।

बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले घर निर्माणमा नाम छुटेका हुरीपीडितले सो कार्यालय घेराउ गर्न पुग्दा सामान्य विवाद भएको बताए। हुरीबाट क्षति भएका घर निर्माण हुन नदिन वडाध्यक्ष र गाउँपालिका अध्यक्षले चलखेल गरी धेरै पीडितको नाम छुटाएको पीडित वैजनाथ प्रसादले जनाए। उनका अनुसार गाउँपालिका प्रमुख र वडाध्यक्ष नजिकका व्यक्तिको घर निर्माण सेनाले गरे पनि अन्यको घर निर्माण रोकिएको छ।

घर कटौती भएका स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरे पनि त्यसको कुनै सुनुवाइ नगरिएपछि गाउँपालिका कार्यालयमै विरोेध प्रदर्शन गर्नुपरेको उनले बताए। गत चैत १७ गतेको हावाहुरीमा परी भलुही भरवलियाका चार सय घर क्षतिग्रस्त भएको फेटा गाउँपालिकाले जनाएको छ। गाउँपालिका प्रमुख अमिरिलालप्रसाद साहले बाराका प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले भलुही भरवलियाका हुरीपीडितका निर्माण हुनुपर्ने घर कटौती गरेको आरोप लगाए।

प्रकाशित: ४ असार २०७६ ०१:५४ बुधबार

हुरीपीडित घर_निर्माण कार्यालय_घेराउ