समाज

रास्वपाको १८२ सिट स्वाभाविक जनमत: डा. ज्ञवाली

संविधानविद् एवं वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले भर्खरै सम्पन्न आमनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको दुई तिहाइ नजिकको जनमत अस्वाभाविक नभएको बताएका छन्।

पुराना दलहरूले विगत ३० वर्षमा सुशासन दिन नसकेको र विकासको जनअपेक्षा पूरा नगरेका कारण जनताले विवेक प्रयोग गरेर रास्वपालाई १८२ सिटको ऐतिहासिक अभिमत दिएको उनको भनाइ छ।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम फ्रन्टलाइनमा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दै डा. ज्ञवालीले यस्तो बताएका हुन्।

निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिकतर्फ गरी १८२ सिट जित्दा पुराना ठूला दलहरू ४० सिटमा खुम्चिएका छन्। यसलाई नागरिकको चरम निराशाको परिणाम मान्दै उनले भने, ‘जनता सार्वभौम छन्, उनीहरूले आफ्नो बालिग मताधिकार र विवेक प्रयोग गरेर दिएको मतलाई अस्वाभाविक भन्न मिल्दैन।’

ठूला दलहरूले जनमत मात्र नभई आफ्नै कार्यकर्ताको समेत मत गुमाएको ज्ञवालीको विश्लेषण छ। दलभित्र मौलाएको चरम गुटबन्दीका कारण कार्यकर्तामा निराशा छाएको र उनीहरूले विकल्प खोजेको उनले औंल्याए।

‘दलभित्र फलानो गुटको सरकार र फलानो दाइको सरकार भन्ने भयो, आफ्नै पार्टीको सरकार हो भन्ने अपनत्व आम कार्यकर्ताले महसुस गर्न सकेनन्,’ डा. ज्ञवालीले भने, ‘त्यसैकारण आफ्नै कार्यकर्ताले समेत मत नदिएर पुराना दल खुम्चिन पुगेका हुन्।’

विगतमा ठूला दलले पटक-पटक बहुमत र दुई तिहाइ नजिकको मत पाए पनि त्यसलाई जोगाउन नसकेको उनले स्मरण गराए।

२०४८ सालमा कांग्रेस र २०७४ सालमा वाम गठबन्धनले पाएको जनमतको दुरुपयोग भएको उनको निष्कर्ष छ। सरकारको अस्थिरता, पटक-पटकको संसद् विघटन र शान्ति सुरक्षा तथा विकासमा देखिएको ह्रासले नागरिकमा दलहरूप्रति वितृष्णा जन्माएको उनले बताए।

ज्ञवालीले अगाडि भने, ‘जनताले यो देश मलेसिया वा सिंगापुर बन्छ, यहीँ रोजगारी पाइन्छ भन्ने अपेक्षा गरेका थिए, तर त्यो पूरा नभएपछि जनमत रास्वपामा गएर खनियो।’

जनमत भनेको विचारको परिवर्तन भएको उल्लेख गर्दै ज्ञवालीले अब बन्ने रास्वपाको एकल सरकारलाई पनि काम गरेर देखाउने ठूलो चुनौती रहेको बताए।

नागरिकले आफ्नै घरदैलोमा राज्य र सरकारको उपस्थिति महसुस गर्न नसकेसम्म जनमत स्थिर नहुने र नयाँ दलले पनि विधिको शासनअनुसार काम गर्नुपर्नेमा उनले जोड दिएका छन्।

प्रकाशित: ४ चैत्र २०८२ १९:२२ बुधबार