नवलपरासीको गैंडाकोटमा दुई बस एकआपसमा ठोक्किँदा १८ जना घाइते भएका छन्। शनिबार बिहान गैंडाकोट नगरपालिका १२, हर्कपुरस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो।
नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु२ ख ६४५७ नम्बरको बसलाई सोही दिशातर्फ आउँदै गरेको लु २ ख ६०३६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा दुवै बसमा सवार १८ जना घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि भरतपुर पठाइएको छ।
घाइतेमध्ये लु २ ख ६४५७ नम्बरको बसमा सवार कालिकोटको तिलागुफा नगरपालिका ३ का ३६ वर्षीय धनमान हमाल र गैंडाकोट नगरपालिका ५ की करिब ६० वर्षीया लिला थापाको पुरानो मेडिकल कलेज, चितवनमा उपचार भइरहेको छ।
यस्तै, लु २ ख ६०३६ नम्बरको बसका चालक चितवनको भरतपुर महानगरपालिका ४ का ४७ वर्षीय सन्तोषबहादुर गुरुङसहित गैंडाकोट ७ की १२ वर्षीया आत्रिया पौडेल, गैंडाकोट १५ की ४० वर्षीया माधवा ज्ञवाली, गोरखाका ३५ वर्षीय शकर बयलकोटी, गैंडाकोट २ की ३८ वर्षीया सिता ज्ञवाली, सोही स्थानकी ११ वर्षीया जस्विन ज्ञवाली र चितवनको भरतपुर महानगरपालिका–२ की १० वर्षीया दिभा रानाभाटको नयाँ चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
त्यस्तै, पुरानो चितवन मेडिकल कलेजमा बारा कलैया उपमहानगरपालिका ९ का ६० वर्षीय मोहन भैया साह, चितवन भरतपुर महानगरपालिका २ की ३१ वर्षीया निशा तिवारी, उनका करिब ८ वर्षीय छोरा ऐट्रेन भट्ट, दाङका करिब ५५ वर्षीय निमलाल खड्का र उनकी करिब ५५ वर्षीया श्रीमती अमृता खड्का, रुपन्देही मायादेवी गाउँपालिका ६ का ५७ वर्षीय मनोज गुरुङ र उनकी ५१ वर्षीया श्रीमती हुमा गुरुङ, गैंडाकोट ५ का ५२ वर्षीय प्रेमबहादुर रानाभाट तथा गैंडाकोट ६ की करिब ४३ वर्षीया मिरा आचार्यको उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २७ भाद्र २०८३ ११:४५ शनिबार