समाज

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

जेनजी आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बालसुधारगृह र एउटा कारागारबाट फरार भएका ३४० जनामध्ये १७१ जना कैदी तथा बालबन्दीलाई पक्राउ गरिएको छ।

सो अवधीमा अझै १६९ जना बालबन्दी तथा कैदी बन्दी सम्पर्कमा आउन सकेका छैनन्। गत वर्ष भदौ २३ र २४ गते राति उनीहरू फरार भएका थिए।

जिल्लाको बैजनाथ गाउँपालिकास्थित नौबस्ता बालसुधारगृह, डुडुवा गाउँपालिकास्थित जयन्दु बालसुधारगृह र नौबस्ता क्षेत्रीय कारागारबाट भागेका थिए। तीमध्ये जयन्दु बालसुधारगृहबाट भागेका ११५ जनामध्ये ६८ जना, नौबस्ता बालसुधारगृहबाट भागेका ७८ जनामध्ये ४७ जना र क्षेत्रीय कारागार नौबास्ताबाट फरार भएका १४७ जनामध्ये ५६ जना पक्राउ परेका छन्।

जयन्दु बालसुधारगृहका प्रमुख किशोर शर्माले आन्दोलनका समयमा सुधारगृहबाट भागेका ११५ बालबन्दीमध्ये ६८ जना पक्राउ परेको जानकारी दिए। उनले अझै ४७ जना फरार रहेको उल्लेख गर्दै उनीहरूको खोजीकार्य जारी रहेको बताए। शर्माका अनुसार फरार भएकामध्ये केहीलाई विभिन्न स्थानबाट पक्राउ गरिएको र केही आफैँ सुधारगृहमा फर्किएका थिए।

नौबस्ता बालसुधारगृहका प्रमुख श्यामबहादुर रानाले जेनजी आन्दोलनका क्रममा सुधारगृहमा रहेका १७६ बालबन्दीमध्ये ७८ जना भागेको बताए। सो क्रममा प्रहरीसँगको झडपमा पाँच जना बालबन्दीको मृत्यु भएको थियो। उनले फरारमध्ये ४७ जना पक्राउ परिसकेको र ३१ जनाको खोजी भइरहेको छ।

नौबस्ता क्षेत्रीय कारागारबाट फरार भएका १४७ कैदीमध्ये एक वर्षको अवधिमा ५६ जना पक्राउ परेका छन्। कारागार प्रमुख दलबहादुर बस्नेतले  १८ जना भारतीय नागरिकसहित ९१ जना अझै सम्पर्कविहीन भएको जानकारी दिए। आन्दोलनका बेला सो कारागारमा ५८५ कैदी रहेका थिए। 

प्रकाशित: २५ भाद्र २०८३ १३:१५ बिहीबार