उदयपुरकी १७ वर्षीया विधिका तामाङ चार दिनदेखि सम्पर्कविहीन भएकी छन् । त्रियुगा नगरपालिका–४, बगाहा बुद्धचोककी विधिका गत शुक्रबार विद्यालयबाट घर फर्किएपछि परिवारलाई जानकारी नदिई घरबाट निस्किएकी थिइन् । त्यसयता उनी परिवार र आफन्तको सम्पर्कमा आएकी छैनन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार विद्यालयबाट फर्किएको केही समयमै घर छाडेकी विधिका कहाँ छिन् भन्ने अहिलेसम्म खुलेको छैन । परिवार र प्रहरीले उनको खोजी गरिरहेका छन् ।
प्रहरी निरीक्षक विष्णु खड्काका अनुसार विधिका रातिसम्म घर नफर्किएपछि उनका अभिभावकले सुरुमा उनी साथी वा आफन्तको घर गएको हुन सक्ने अनुमान गरेका थिए । तर भोलिपल्टसम्म पनि घर नफर्किएपछि परिवारले उनी बेपत्ता भएको भन्दै प्रहरीलाई जानकारी गराएको हो ।
विधिका बुबा विनोदका अनुसार छोरीले घरबाट निस्कँदा कसैलाई केही जानकारी दिएकी थिइनन् । मोबाइलमा सम्पर्क हुन नसकेपछि परिवारले आफन्त, छरछिमेक तथा नातागोताका घर र सम्भावित स्थानमा खोजी गरेको थियो । कतै फेला नपरेपछि आइतबार जिल्ला प्रहरी कार्यालयमा हुलियासहित खोजीका लागि निवेदन दिएको उनले बताए ।
ज्याला–मजदुरी गरेर परिवार चलाउँदै आएका विनोद र घरधन्दा सम्हाल्दै आएकी आमा विमला छोरी सम्पर्कविहीन भएपछि चिन्तित छन् । स्थानीय जनता माध्यमिक विद्यालय, श्रीपुरमा कक्षा ९ मा अध्ययनरत विधिका अचानक बेपत्ता भएपछि परिवारले उनी कुनै साथीसँग गएको वा अपरिचित व्यक्तिको सम्पर्कमा परेर जोखिममा परेको हुन सक्ने आशंका गरेका छन् ।
प्रहरी निरीक्षक खड्काले विधिकाको हुलिया र फोटोसहित खोजीका लागि निवेदन प्राप्त भएकाले खोजी कार्य तीव्र पारिएको बताए । हालसम्म उनको अवस्थाबारे कुनै जानकारी प्राप्त नभए पनि प्रहरी र परिवारले सम्भावित सबै स्थानमा खोजी गरिरहेको उनले जानकारी दिए ।
परिवार र प्रहरीले विधिकालाई कसैले देखे वा उनको अवस्थाबारे कुनै जानकारी पाएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरेका छन् । साथै प्रहरी वा विधिकाका परिवारको सम्पर्क नम्बर ९७१६०७८६६८ मा जानकारी गराइदिन अनुरोध गरिएको छ ।
प्रकाशित: १ भाद्र २०८३ २०:४९ सोमबार

-600x400.jpg)
