समाज

बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित

बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन्। बाढीपहिरोले १७ घरमा पूर्ण क्षति भएको छ भने ७७ घर उच्च जोखिममा र ७२ घर जोखिममा छन्। 

गाउँपालिकाका अनुसार विपद्बाट ५७२ रोपनी खेतबारीमा क्षति पुगेको छ। यसैगरी, १२ वटा गोठ पूर्ण र १८ वटा आंशिक क्षति भएको छ भने २० वटा सडकमा पनि क्षति भएको छ। 

गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाका अनुसार वडा नं ५ को छिसवाङ, वडा नं २ को भाइवाङ र वडा नं ४ को महेशलाई जोखिमयुक्त बस्तीका रूपमा पहिचान गरिएको छ। विपद्बाट प्रभावित परिवारलाई राहत वितरण तथा अस्थायी बसोबासको व्यवस्था गर्नुका साथै क्षतिको विवरण सङ्कलन भइरहेको छ। 

बाढीपहिरोबाट विस्थापित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। पहिरोबाट विस्थापित गाउँपालिका–३ बरञ्जाका गङ्गाप्रसाद पुर्जा र कृष्णलाल सापकोटा बस्ती संरक्षण र पहिरो नियन्त्रणका निम्ति स्थानीय तह सक्रिय हुनुपर्नेमा जोड दिँदै त्यसो नगरे आगामी वर्षायाममा अझ क्षति हुने बताए। 

छिसवाङ, सहस्रधारा, तोराखेत र सेराफाँट क्षेत्रमा म्याग्दी नदीको कटानले बस्ती जोखिममा पारेको छ। सिँचाइ तथा खानेपानी आयोजनामा भएको क्षतिको विवरण सङ्कलन भइरहेको गाउँपालिकाले जनाएको छ।  

प्रकाशित: १५ कार्तिक २०८३ ११:२८ आइतबार