स्याङ्जा - पाल्पा र स्याङ्जाको सीमामा पर्ने राम्दीलाई त्रिवेणीको रुपमा लिइन्छ। अगाहखोला, गुरुवाखोला र कालीगण्डकी मिसिएर त्रिवेणी बनेको हो। अगाहखोलालाई प्राचीन समयमा अंगीरखोला र गुरुवाखोलालाई गुरुखोला भनिन्थ्यो। बशिष्ट ऋषिको तपोभूमिबाट आउने खोला गुरुखोला हुँदै गुरुवाखोला बनेको पाइन्छ।
राम्दीमा पीण्डदान गर्दा गयामा भन्दा १०० गुणा बढी फल प्राप्त हुने विश्वास गरिन्छ। कालीगण्डकी प्रयाग, कुरुक्षेत्र र नैमिषारण्य भन्दा तीन अरब गुना महत्वपूर्ण छ भने गया भन्दा एक अरब गुना महत्वपूर्ण भएको विभिन्न धार्मिक ग्रन्थहरुमा उल्लेख गरेको पाइन्छ।
गंगा, यमुना र सरस्वतीको संगम त्रिवेणी प्रयागमा कुम्भको बेला, कुरुक्षेत्रमा ग्रहणको बेला र नैमिषारण्यमा १०० पटक नुहाएर मिलेको मोक्ष राम्दी त्रिवेणीमा एक पटक नुहाउँदा मिल्ने किवंदन्ती पाइन्छ। ‘अन्य तीर्थ स्थलमा स्नान गर्नु र राम्दीमा गर्नु धेरै फरक छ,’ दर्शनार्थी शारदा पंगेनीले भनिन्, ‘साच्चिकै मोक्ष प्राप्तिका लागि राम्दीमा स्नान गर्नुको बिकल्प छैन।’
‘गण्डकी नदी संसारकै सबैभन्दा महत्वपूर्ण नदी हुन। उत्तर वहने नदी काली हुन्,’ धार्मिक अभियन्ता चैतन्यकृष्णले भने,‘कालीगण्डकीको महिमा अपरम्पार छ।’ मानव उत्पत्ति, जीवहरुको बिकासक्रमको खोजका लागि गण्डकी सभ्यताको खोज महत्वपूर्ण भएको उनले दाबी गरे। उनका अनुसार हजारौं वर्षपूर्वका वैदिक ग्रन्थहरुले गण्डकी नदीको ठुलो महत्व प्रतिपादन गरेकाले पनि गण्डकी क्षेत्र धेरै महिमायुक्त भएको छ। उनले भने, ‘वेद पुराणहरुमा गण्डकी नदीको महिमा मुक्तकण्ठले गाइएको छ। भगवान शालग्रामको उत्पत्तिको गण्डकीमै भएकाे हाे।’ चर्चित फ्रेन्च दार्शनिक भोल्टेयरले संसारका सारा प्रश्नहरुको उत्तर खोज्ने ठाँउ कालीगण्डकी भएको भन्ने भनाई समेत उनले स्मरण गरे।
गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले राम्दी त्रिवेणीलाई विश्वकै उत्कृष्ट धार्मिक गन्तव्यको रुपमा विकास गर्ने दाबी गरे। उनले भने, ‘राम्दी सनातन धर्मवलम्बीहरुको गन्तव्य हो। संरक्षण, सम्वर्द्धन र प्रचार–प्रसार नगरपालिकाले गर्छ।’ नेपाल विश्वलाई भाषा, धर्म, संस्कार र संस्कृति सिकाउने देश भएको दाबी गर्दै उनले भने, ‘राम्दीमा संस्कृति विश्वविद्यालय स्थापना गर्ने संकल्प लिएको छौं।’ सनातन धर्मको खोज तथा अनुसन्धानको एक मात्र केन्द्र राम्दी क्षेत्र हुने उनले बताए।
प्रकाशित: ३ मंसिर २०७५ १०:२३ सोमबार