समाज

मालपोत र यातायातबाट १६ विचौलिया पक्राउ

सुर्खेतको वीरेन्द्रनगरस्थित यातायात व्यवस्था कार्यालय र जिल्ला मालपोत कार्यालयबाट १६ जना विचौलियालाई प्रहरीले पक्राउ परेर अनुसन्धान सुरु गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले सेवाग्राहीको सवारी दर्ता किताब (ब्लुबुक) नवीकरण गरिदिने तथा जग्गा नामसारी लगायतका भू–सेवा सम्बन्धी काम गरिदिने भन्दै रकम लिँदै बिचौलियाको रुपमा काम गर्ने १६ जनालाई पक्राउ गरिएको हो ।

यातायात व्यवस्था कार्यालयबाट ६ पुरुष र मालपोत कार्यालयबाट १० जना महिला गरी जम्मा १६ जनालाई नियन्त्रणमा लिएको उनले जानकारी दिए । डीएसपी बुढथापाका अनुसार पक्राउ पर्नेहरुमा यातायात व्यवस्था कार्यालय सुर्खेतबाट वीरेन्द्रनगर नगरपालिका–१ प्रगतिशीलका ३६ वर्षीय दीपकबहादुर विक, वीरेन्द्रनगर–३ का ६२ वर्षीय इन्द्रबहादुर शाही, वीरेन्द्रनगर–१२ का ३३ वर्षीय प्रदीप खड्का, वीरेन्द्रनगर–५ का २८ वर्षीय हरिप्रसाद देवकोटा, वीरेन्द्रनगर–१० का ३२ वर्षीय प्रभाकर शर्मा गौतम र लेकवेशी नगरपालिका–३ का ३७ वर्षीय रमेश दमाई छन् ।  

मालपोत कार्यालयबाट वीरेन्द्रनगर नगरपालिका–३ की २५ वर्षीया लक्ष्मी शाही, ३४ वर्षीया पार्वती योगी, वीरेन्द्रनगर–५ की ३५ वर्षीय पवित्रा न्यौपाने, वीरेन्द्रनगर–६ की २३ वर्षीया सम्झना योगी, ३८ वर्षीया निर्मला योगी, वीरेन्द्रनगर नगरपालिका–११ की १८ वर्षीया रोशनी शाही, ३१ वर्षीया दुर्गा शाही, २० वर्षीया गीता सुनार, ३२ वर्षीया रोशमी तिवारी र वीरेन्द्रनगर–१२ की ३८ वर्षीया कुसुम बुढाक्षेत्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित: १९ चैत्र २०८२ १९:०४ बिहीबार