समाज

दुई जिल्लामा सवारी दुर्घटना हुँदा १६ जना घाइते

पाल्पा र नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) मा भएका दुई फरक-फरक सवारी दुर्घटनामा परि १६ जना घाइते भएका छन्।

पाल्पाको तिनाउ गाउँपालिका-४ चिउरीडाँडामा पिकअप जिप दुर्घटना हुँदा १० जना घाइते भएका हुन्। बिहान करिब ७:०० बजेको समयमा लु १ ज २२३७ नम्बरको मुस्ताङ पिकअप जिप अनियन्त्रित भई सडकबाट करिब ११० मिटर तल खसेर दुर्घटना भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा जिपमा सवार चालकसहित १० जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर र ९ जनाको अवस्था मध्यम रहेको छ। घाइतेहरूको उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पतालमा लगि उपचार भइरहेको छ।

यस्तै, नवलपरासी (बर्दाघाट सुस्ता पूर्व), कावासोती नगरपालिका-१६ पत्थर खोलाको पुलनजिक माइक्रो बस अनियन्त्रित भई पल्टिँदा ६ जना घाइते भएका छन्। नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु.प्र. ०१-००१ ज १००० नम्बरको माइक्रो बस (ईभी हाइस) को अगाडिको बायाँतर्फको टायर पन्चर भएपछि अनियन्त्रित भई पल्टिएको थियो। माइक्रो बसका चालक र सहचालकसहित ७ जना सवार थिए। घाइते सबैको मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ। 

दुवै दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: २५ श्रावण २०८३ १२:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App