टीकापुर– पवित्र तीर्थस्थल कैलाश मानसरोवरसँग हिन्दु धर्मावलम्बीको अटुट सम्बन्ध छ। उनीहरु यसलाई आराध्यदेव भगवान शिवको बासस्थान भएको विश्वास गर्छन्। चीनको तिब्बतमा अवस्थित कैलाश मानसरोवरमा वर्षेनी सयौंको संख्यामा हिन्दु धर्मावलम्बीहरु दर्शन गर्न पुग्छन्।
कैलाश मानसरोवरको यात्रा गर्नेमा अधिकांश भारतीय नागरिक छन्। उनीहरुमा जीवनमा एक पटक कैलाश मानसरोवरको यात्रा गर्नुपर्छ भन्ने मान्यता रहेको पाइन्छ। लाखौं रुपैयाँ खर्चेर भारतीय तीर्थयात्री कैलाश मानसरोवर पुग्ने गरेका छन्। उत्तर प्रदेश सरकारले कैलाश मानसरोवर जाने प्रति तीर्थयात्रीलाई एक लाख रुपैयाँ सहायता गर्दै आएको छ। सरकारले आर्थिक सहायता गर्न थालेपछि कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्रीको संख्या अझ धेरै बढेको छ।
कैलाश मानसरोवर यात्राका लागि बैशाखदेखि असार महिना उपयुक्त हो। मौसम ठिक भए असोजसम्म तीर्थयात्री त्यहाँ पुुग्ने गरेको पाईएको छ। गत वर्ष करिव १२ हजार तीर्थयात्रीले कैलाश मानसरोवर यात्रा गरेका थिए। यो वर्ष अहिलेसम्म ६ हजारले यात्रा गरेको बताईएको छ।
कुनैपनि तीर्थयात्रीका लागि कैलाश मानसरोवर यात्रा सहज छैन्। भारतीय तीर्थयात्रीले कैलाश मानसरोवर यात्राका लागि तीनवटा मार्ग अँगाल्दै आएका छन्। एउटा मार्ग नेपालगञ्ज हुँदै सिमिकोटसम्म हवाईजहाजको यात्रा हो। जहाँ तीर्थयात्रीले सिमिकोटबाट हिल्सासम्म हेलिकोप्टरको यात्रा गर्नुपर्छ। त्यसपछि हिल्सा–दार्सेन–यमद्वारसम्म गाडी र त्यसपछि तीन दिन पैदल यात्रा गर्नुपर्छ।
भारतीय तीर्थयात्रीले अंगालेको अर्को स्थलमार्ग हो। जुन काठमाडौंदेखि ल्हासासम्म गाडी चढ्नु पर्छ। त्यसपछि ल्हासाबाट तीन दिनको पैदल यात्रा पछि ताक्लाकोट पुगिन्छ। तीर्थयात्रीले ताक्लाकोटबाट पुनः गाडी चढ्नु पर्छ। तेस्रो मार्ग भनेको दार्चुलाको पश्चिम पट्टीको बाटो हुँदै पैदल यात्रा हो। जुन पैदल मार्गले नेपाली भूभाग छुँदैन्।
कैलाश मानसरोवरको यात्रा गरेर फर्किएका नेपालगञ्जका पत्रकार कृष्ण अधिकारीले यात्रा निकै जोखिमपूर्ण रहेको बताए। ‘हवाई, स्थल, पैदल यात्रा गर्दा पनि निकै टाढा छ’ उनले भने, ‘अझ भारतीय पर्यटकका लागि घुमाउरो पनि छ। उनीहरु काठमाडौंबाट नेपालगञ्ज आएर त्यता जानुपर्छ।’
उनले यात्राका लागि करिव १२ दिनको समय चाहिने बताए। उनका अनुसार भारतीय पर्यटकले यात्राका क्रममा अझ यो भन्दा धेरै दिन बिताउनु पर्छ।
कैलाश मानसरोवरको हालको यात्रा निकै घुमाउरो र जोखिमपूर्ण भएपछि भारतीय पक्ष सहज मार्गको खोजीमा छ। उसले निर्माणाधिन सेती लोकमार्गलाई कैलाश मानसरोवर यात्राका लागि उपयुक्त हुने ठहर गरेको छ। यो मार्ग भौगोलिक र धार्मिक दुवै दृष्टिकोणले उपयुक्त रहेको जानकारहरु बताउँछन्।
कैलाश मानसरोवरसँग भारत उत्तर प्रदेशको सीतापुर जिल्लास्थित गोमती नदी किनारमा रहेको तीर्थस्थल नैमिषारण्यको सम्बन्ध छ। यो लखनउबाट ८० किलोमिटर टाढा छ। मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार यहाँ ८८ हजार ऋषीहरुले सामुहिक तपश्या गरेका थिए।
उनका अनुसार हवाई मार्ग खुलेपछि नैमिषारण्यबाट सुरु हुने भारतीय तीर्थयात्रीको पैदल यात्रा रोकिएको हो। तत्कालिन समयमा तीर्थयात्रीहरु कर्णाली नदीको किनारै किनार कैलाश मानसरोवरको यात्रामा जाने गरेको कायस्थले बताए।
‘धेरै पछिसम्म पनि केही व्यक्तिहरु सत्तीस्थित शिव मन्दिरमा पूजा गर्न आएको पाईएको छ’ उनले भने, ‘उनीहरु पैदल यात्रा गरेर आउँथे वा कतैबाट गाडी चढेर आउँथे। थाहा छैन।’
भौगोलिक दृष्टिकोणले समेत सेती लोकमार्ग निकै उपयुक्त रहेको ७ नं. प्रदेश काँग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावल बताउँछन्। उनका अनुसार नैमिषारण्यदेखी नेपालको सिमासम्म १६८ किलोमिटर दूरी छ। त्यसैगरी नेपालको सिमादेखी बझाङको उरै लेकसम्म २९९ किलोमिटर छ। उरै लेकबाट केही दिनको यात्रा पछि कैलाश मानसरोवर पुग्न सकिन्छ।
‘भारतीय तीर्थयात्रीले पैदल यात्रा गरेको ठाउँलाई नै स्थल मार्गका रुपमा विकास गर्ने हो’ उनले भने, ‘परापूर्व कालको धार्मिक मान्यतालाई अँगाल्दै छोटो समयमा यात्रा गर्न सकिन्छ।’
उनी लामो समयदेखी कैलाश मानसरोवर स्थलमार्ग निर्माणको आवाज उठाउँदै आएका छन्। उनले हालको सेती लोकमार्गलाई कैलाश मार्ग नामाकरण गरे अझ धार्मिक विश्वास प्राप्त गर्न सकिने बताए। यो लोकमार्गले पहाडी जिल्ला डोटी, अछाम, बाजुरा र बझाङका बासिन्दा समेत लाभान्वित हुनेछन।
धार्मिक र भौगोलिक दुवै दृष्टिकोणले उपयुक्त हुने देखेपछि भारतीय पक्षले समेत यस मार्गको निर्माणमा चाँसो देखाएको छ। भारतीय लोकसभाका साँसद अजय मिश्र टेनीले सिमासम्म ‘फोरलेन’ सडक पु¥याउने प्रतिवद्धता व्यक्त गरे।
टीकापुर उद्योग वाणिज्य संघको नेतृत्वमा तिकुनियाँ पुगेको टोलीसँग कुराकानी गर्दै उनले सेती लोकमार्ग निर्माणको काम समेत छिटो हुनुपर्ने बताए। ‘खक्रौलासम्म फोरलेन सडक पु¥याउने बारे योजना भैसकेको छ। बजेट विनियोजन हुने बित्तिकै काम सुरु हुन्छ’ उनले भने, ‘नेपालतर्फ पनि काम चाँडो सम्पन्न होस्।’
उनले धार्मिक समानता रहेका दुवै देश मिलेर कैलाश मानसरोवरको छोटो मार्ग निर्माण गर्न तयार हुनुपर्नेमा जोड दिए। उनले छोटो मार्गबाट कैलाश मानसरोवरको यात्रा गर्न भारतीय तीर्थ यात्री आतुर रहेको बताए।
प्रकाशित: ३१ असार २०७५ ०९:५६ आइतबार