मध्यपूर्वमा बढ्दो तनावका कारण केही मुलुकहरूले आफ्नो हवाई क्षेत्रमा लगाएका प्रतिबन्धको असर नेपाली नागरिकहरूको अन्तर्राष्ट्रिय यात्रामा पनि देखिएको छ।
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार हाल दैनिक पाँच हजारभन्दा बढी नागरिक प्रभावित भइरहेका छन्। कार्यालयका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार हाल दैनिक सरदरमा ५ हजार ८७० जना प्रभावित भइरहेका छन्।
फागुन १६ गते अमेरिकी र इजरायली आक्रमणपछि इरानले दिएको जवाफले खाडी क्षेत्रका हवाई मार्ग अस्थायी रूपमा बन्द भएका छन्। यस प्रतिबन्धको प्रत्यक्ष प्रभाव काठमाडौं आउने र जाने उडानमा परेको छ।
बस्नेतका अनुसार, कतार एयरवेज, एयर अरेबिया, जजीरा, कुवेत एयरवेज, फ्लाइ दुबई, नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका गरी दैनिक १० भन्दा बढी उडान रद्द भइरहेका छन्। यसले दैनिक सरदर पाँच हजारभन्दा धेरै यात्रु प्रभावित भइरहेका छन्। यो हिसाबले आजसम्ममा ९९ हजार ७९० नागरिकको यात्रा प्रभावित भएको छ।
यात्रुको व्यवस्थापनको जिम्मेवारी सम्बन्धित एयरलाइन्सकै हुने कार्यालयले स्पष्ट पारेको छ। अलपत्र यात्रुको लागि विमानस्थलले सहजीकरण गर्ने भए पनि प्रत्यक्ष सहयोग वा क्षतिपूर्ति भने उपलब्ध गराउने व्यवस्था नरहेको प्रवक्ता बस्नेतको भनाइ छ।
हाल त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ६ बजेदेखि राति १ बजेसम्म उडान-अवतरण भइरहेको छ। आवश्यकता परेको खण्डमा बिहान ३ बजेसम्म विमानस्थल सञ्चालन गरिने कार्यालयले स्पष्ट पारेको छ।
विशेषगरी दुबईबाट सिधै नेपालका लागि हुने उडान भने जारी छ। पछिल्लो समय मध्यपूर्वको हवाइ यात्रा प्रभावित हुन थालेपछि नागरिकहरू प्रायः वैकल्पिक रुट अपनाएर गन्तव्यतर्फ गइरहेका कार्यालयको अनुमान छ।
प्रकाशित: २ चैत्र २०८२ १७:१६ सोमबार