लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट १५ जनालाई नियन्त्रणमा लिएको छ।
झापा, भद्रपुर नगरपालिका-४ डाँगीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १८ ग्राम ५ सय मिलिग्राम र नगद ३ लाख २ सय ५० रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने ३० वर्षीय बब्लु मर्डी र बिर्तामोड नगरपालिका-१ बस्ने २७ वर्षीय अन्मोल गजमेर रहेका छन्। वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी झापा, कन्काई नगरपालिका-९ नयाँ देउनियाबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने देवुलाल राजबंशी समेत ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध डाइजेपाम १६ एम्पुल, फेनारगन १५ एम्पुल, बुप्रेनोर्फिन १६ एम्पुल सहित पर्वत जलजला गाउँपालिका-७ बासखर्क बस्ने १९ वर्षीय कमल परियारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।
अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ जाँदै गरेको लु.१ ख ८३२० नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
सुनसरी, कोशी गाउँपालिका-१ लौकहीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ८ सय ७० ट्याब्लेट सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा उदयपुर बेलका नगरपालिका-५ बस्ने २२ वर्षीय सुदिप राउत र सुनसरी रामधुनी नगरपालिका-१ बस्ने २० वर्षीय सरोज खवास रहेका छन्। उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
बाँके, नेपालगंज उपहानगरपालिका-१० चौलिका चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय १० मिलिग्राम सहित रूकुम पश्चिम आठबिसकोट नगरपालिका-१० बस्ने २२ वर्षीय हेमन्त शाहीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० भुटनदेवी रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ईन्द्रसरोवर गाउँपालिका-२ घर भएका २४ वर्षीय अविशेक बलामीलाई गए राति प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
चितवन, भरतपुर महानगरपालिका-३ पुलचोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम १३ एम्पुल, फेनारगन १३ एम्पुल, बुप्रेनोर्फिन १३ एम्पुल र नगद २१ हजार ७ सय रूपैयाँ सहित नवलपरासी पूर्व गैँडाकोट नगरपालिका-७ बस्ने ३१ वर्षीय अशोक लामालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यायल नारायणगढबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
कैलाली, टीकापुर नगरपालिका-९ बालुवाटारबाट अबैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-५ बस्ने २० वर्षीय विशाल चौधरी समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
पर्सा, सखुवा प्रसौनी गाउँपालिका-५ महुवन बजारबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो २ सय ग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा पर्सागढी गाउँपालिका-९ बस्ने ३१ वर्षीय मोहिचन प्रसाद यादव र ४० वर्षीय बैधनाथ प्रसाद यादव रहेका छन्।
प्रहरी चौकी महुवनबाट खटिएको प्रहरीले बिआर ०५ वाइ ८५३४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: २३ चैत्र २०८२ १५:१५ सोमबार