समाज

अनैतिक सम्बन्धले निम्त्याएको दुर्दशा

श्रीमतीको हत्या गरेर पाँच वर्ष जेल बसेका एक अधबैंसे युवाले परस्त्रीसँग सम्बन्ध राख्दा एकजनाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन्। सोमबार राती रामबाबु साह नाम गरेका ती युवाले खुकुरी प्रहार गर्दा एकजनाको हत्या र दुईजना गम्भीर घाइते भएका हुन्।

धनुषाको क्षिरेश्वरनाथ नागरपलिका– ९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहले जनकपुरधाम उपमहानगरपालिका– ४ स्थित कटैयाचौरीमा डेरा गरी बस्ने तीनजनामाथि खुकुरी प्रहार गरी एकजनाको हत्या गरेका हुन्।

सोमबार राती साहले खुकुरी प्रहार गरी धनुषाकै बटेश्वर गाउँपालिका– ५ शान्तिपुरका दिनेश यादवकी १४ वर्षीया छोरी अञ्चलीकुमारी यादवको हत्या गरेको प्रहरीले जनाएको छ।

सोमबार राति ११ बजेतिर साहले उनीहरू जनकपुरमा डेरा गरी बसिरहेको घरमा पुगी अन्धाधुन्ध खकुरी प्रहार गर्दा अञ्चलीकुमारी यादवको मृत्यु भएको थियो । साथै ३५ वर्षीय आशा यादव र १५ वर्षीय राधा यादव घाइते भएकी छन्। मृतक अञ्चली आशाकी छोरी हुन् र राधा भतिजी।

अञ्चलीको घाँटीमै खुकुरी प्रहार हुँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अनिल बैठाले जानकारी दिए। उनका अनुसार घाइते आशा र राधालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याएका थिए। राधा अस्पतालबाट फर्किसकेकी छन् भने आशाको उपचार भइरहेको छ।

घाइते आशा र रामबाबुबिच अनैतिक सम्बन्ध रहेको आशाका श्रीमान् दिनेश यादवले बताए । ‘मैले श्रीमतीलाई पटकपटक आफ्नो घर लगें तर रामबाबुले नै उनलाई मसँग बस्न दिएनन्’, यादवले भने, ‘छोरा मसँग बस्छन् तर छोरीलाई श्रीमती आशाले आफूसँगै जनकपुरमा राखिरहेकी थिइन्।’

दिनेशका अनुसार आशा र रामबाबुबिच अनैतिक सम्बन्ध रहेको कुरा गाउँमा सबैलाई थाहा थियो। कतिचोटी गाउँमा त कहिले प्रहरीकहाँ यो विषयमा छलफल भइसकेको छ, तर पनि रामबाबु मेरी श्रीमतीको पछि लागिरहे। रामबाबुले आफूसँग विवाह गर्नका दबाब दिइरहेको थियो तर आशाले विवाह गर्न नमानेपछि आमाछोरीलाई सिध्याउने उद्देश्यले खुकुरी प्रहार गरेका हुन्।

आशा जनकपुरमा टेम्पु चलाएर छोरीलाई पढाइरहेका थिइन्। मृतक अञ्चली कक्षा ९ मा पढिरहेकी थिइन्। आशाले १५ दिनअघि मात्रै त्यो घरमा कोठा लिएका थिए। रामबाबु साह यसअघि श्रीमतीलाई हत्या गरेर पाँच वर्ष कारागार बसिसकेका थिए। कारागारबाट निस्किएको एक महिनामै अर्का विवाह गरेका थिए। उनकी जेठी श्रीमतीबाट दुई छारी र कान्छी श्रीमतीबाट एक छोरी जन्मिएका छन्।

रामबाबुको चालचलन ठिक भएका कारण उनी कारागारबाट छुटेका थिए। उनकी आमा दुई वर्षदेखि गाउँमा घर भाडा लिएर बसिरहेकी छन्। घटनापछि रामबाबु फरार भएका छन्। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रकाशित: १४ श्रावण २०८२ ०८:०९ बुधबार

Nagariknews