समाज

केरुङमा अलपत्र परेका दुई सय नागरिकलाई तातोपानीबाट ‘रेस्क्यू’ गरिँदै

छिमेकी राष्ट्र चीनतर्फ अविरल वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीले रसुवाको टिमुरे क्षेत्रमा ठुलो क्षति भई नेपाल प्रवेश गर्न नपाएका दुई सय नागरिकलाई तातोपानी नाकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ।

ल्हासास्थित नेपाली महावाणिज्य दूतावासको पहलमा केरुङ नाकामा अलपत्र परेका नागरिकलाई तातोपानी नाकाबाट नेपाल प्रवेशको व्यवस्था मिलाइएको हो।

ल्हासास्थित महावाणिज्यदूत लक्ष्मी निरौलाका अनुसार अलपत्र परेका ५० नेपाली, २२ भारतीय र तथा मानसरोवर पुगेर नेपाल फर्कन लागेका अन्य २ सय नागरिकलाई तातापानी नाकाबाट रेस्क्यू गर्न चिनिया पक्ष सहमत भएको हो।

‘केरुङ नाकामा अलपत्र परेका दुई सय नागरिकलाई रेस्क्यू गरिदिन महावाणिज्यदूतावासबाट गरेको आग्रहलाई चिनियाँ पक्षले स्वीकार गरी उनीहरुलाई तातोपानी नाकाबाट नेपाल प्रवेशका लागि सहजीकरण गरिएको छ’, महावाणिज्यदूत निरौलाले भने।

प्रकाशित: २४ असार २०८२ २०:२७ मंगलबार