उत्तरी छिमेकी चीनतर्फ अबिरल वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीले रसुवाको टिमुरे क्षेत्रमा ठुलो क्षति भएको छ।
मंगलबार बिहान ३ बजे लेदोसहित आएको भीषण बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ। साथै, चार चिनियाँसहित २० जना बेपत्ता भएका छन्। बेपत्ता हुनेहरूमा १४ नेपाली र ६ चिनियाँ रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
सशस्त्र प्रहरी बलका अनुसार बेपत्ता हुनेमा नेपाल प्रहरी अन्तर्गत इलाका प्रहरी कार्यालय, टिमुरेमा कार्यरत प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा छन्।
यस्तै, बेपत्ता हुनेमा ६ जना चिनियाँ नागरिकहरूमा यु युइ, ली हुवाछिन, याङ चुआन, यु हाइ हाङ, यु छिआओ छुइ र जोउ योङ रहेका छन्।
बेपत्ता हुने नेपाली नागरिकहरूमा बर्दिया स्थायी घर भएका जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु, बाग्लुङका नरेन्द्र विक, कन्टेनर चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान, हाइलक्स चालक लोकमान तामाङ रहेका छन्।
यसैगरी, बाढीमा फसेका ५५ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामा चार जना महिला र ५१ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
भन्सार क्षेत्रमा रहेका मानिसको उद्धार गर्न जाने क्रममा बाढीमा फसेका ११ जना उद्धारकर्मीहरूको पनि उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए।
उनीहरूको प्रहरी बल नेपाल र नेपाली सेनाको उद्धार टोलीले हेलिकप्टरमार्फत उद्धार गरिएको उनले बताए। कार्यालयका अनुसार रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेका एक जना चिनियाँ पुरुष, १५ जना नेपाली पुरुष र २ जना नेपाली महिला गरी १८ जनालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्धार टोलीले झोलुङ्गे पुलबाट हिँडाएर उद्धार गरेको थियो।
जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्रहरी निरीक्षक कृष्णबहादुर धितालको कमाण्डमा २० जनाको प्रहरी टोली, इप्रका टिमुरे रसुवाबाट प्र.ना.नि धनबहादुर तामाङको कमाण्डमा २८ जना, प्र.चौ रसुवागढीबाट प्र.ब.ना.नि. सुमन महन्त गिरीको कमाण्डमा १२ जना, प्र.चौ स्याफ्रुबेशी रसुवाबाट ८ जना, प्र.चौ. हाकु रसुवाबाट ७ जना अ.प्र.पोष्ट मैलुङ रसुवाबाट ९ जना प्र.चौ. बेत्रावतीबाट १० जनाको प्रहरी टोली गरी जम्मा ९४ जनाको टोली उद्धार कार्यका लागि खटिएका छन्।
भन्सारको यार्डमा व्यापक क्षति
बाढीले नदी किनारमा रहेको भन्सारको यार्ड (ड्राइपोट) मा पनि व्यापक क्षति गरेको छ। भन्सार पासका लागि तयारी अवस्थामा रहेका गाडी तथा मालबाहक कन्टेनरहरू बाढीले बगाएको इन्टर मोडेल ट्रान्सपोर्ट डेभलोपमेन्टका कार्यकारी निर्देशक आशिष गजुरेलले नागरिकन्युजलाई जानकारी दिएका छन्।
उनका अनुसार यार्डमा झण्डै दुई सय वटा सवारी साधनहरू रहेका थिए। जसमा करिब एक सय वटा मालबाहक गाडी बगाएको अनुमान उनले गरे। उनले भने, ‘यार्डमा झण्डै दुई सय वटा सवारी साधनहरू रहेका थिए। जसमा करिब एक सय वटा मालबाहक गाडी बगाएको हालको अनुमान छ।’
ताल फुटेर बाढी आयोः मौसम विभाग
जल तथा मौसम विभागले मंगलबार बिहान एक विज्ञप्ति जारी गर्दै प्रारम्भिक रूपमा यस बाढी वर्षाको कारण उत्पन्न भएको नदेखिएको बताएको छ।
भोटेकोशी नदी जलाधारको तिब्बतको क्षेत्रमा थुप्रै हिमतालहरू अवस्थित रहेकाले बाढी ताल फुटेर आउको हुन सक्ने बताएको हो।
यस्तै, विभागले बाढीको सम्भावित कारण पत्ता लगाउन तथा नदी तटीय क्षेत्रमा थुप्रै हिमतालहरू अवस्थित रहेकाले नदी जलाधारको तिब्बतको क्षेत्रमा बाढीको असर आकलनका लागि मंगलबार बिहान ९ बजे सेन्टिनेल एसिया प्लेटफममा तत्कालको भूउपग्रह तस्बिर प्राप्त गर्न इमरर्जेन्सी अब्जरभेसन रिक्वेस्ट जारी गरिएको जनाएको छ।
विभागले भनेको छ, ’प्रारम्भिक रूपमा यस बाढी वर्षाको कारण उत्पन्न भएको देखिँदैन। भोटेकोशी नदी जलाधारको तिब्बतको क्षेत्रमा थुप्रै हिमतालहरू अवस्थित रहेकाले बाढीको सम्भावित कारण पत्ता लगाउन तथा नदी तटीय क्षेत्रमा थुप्रै हिमतालहरू अवस्थित रहेकाले बाढीको सम्भावित कारण पत्ता लगाउन नदी जलाधारको तिब्बतको क्षेत्रमा बाढीको असर आकलनका लागि आज बिहान ९ बजे सेन्टिनेल एसिया प्लेटफममा तत्कालको भूउपग्रह तस्बिर प्राप्त गर्न इमरर्जेन्सी अब्जरभेसन रिक्वेस्ट जारी गरिएको छ।’
हाइड्रोपावरमा क्षति
रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा आज बिहान आएको बाढीमा परी चार वटा हाइड्रोपावरमा क्षति भएको छ। बाढीका कारण रसुवागढी जलविद्युत् आयोजना, त्रिशूली थ्री ‘ए’, चिलिमे हाइड्रोपावर र बेनी हाइड्रोपावरमा क्षति भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
बाढीका कारण सबैभन्दा बढी रसुवागढी जलविद्युत् आयोजनामा क्षति पुगेको र आयोजनाको बाँधको गेट बगाएको प्राधिकरणले जनाएको छ।
गाउँपालिका अध्यक्ष तामाङका अनुसार बाढीका कारण चार जलविद्युत् आयोजनामा क्षति भएको छ। सबैभन्दा बढी रसुवागढी जलविद्युत् आयोजनामा भएको छ। १११ मेगावाट रहेको यो आयोजना अन्तर्गतको पुल समेत बगाएको छ। अन्यमा भने सामान्य क्षति भएको उनले बताए।
उनका अनुसार ६० मेगावाटको त्रिशूली थ्री ‘ए’ आयोजनाको भवनमा बाढी पसेको छ। साथै बाढले सामान्य क्षति भएका चिलिमे हाइड्रोपावर २१ मेगावाट र बेनी हाइड्रोपावर १९ मेगावाटका हुन्।
रसुवामा बाढी, धुलिखेलमा सुरक्षा गोष्ठी
मंगलबार बिहान बाढीले रसुवाको टिमुरे क्षेत्रमा ठुलो क्षति भैरहँदा धुलिखेलमा बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी चलिरहेको थियो। यो गोष्ठी गृह मन्त्रालयको नियमित कार्यक्रम अन्तर्गत रहेको थियो।
सुरक्षा गोष्ठीमा भाग लिन रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल, डिएसपी हेमबहादुर शाही र सशस्त्र प्रहरीका डिएसपी रामहरी खड्का धुलिखेलमा थिए।
सुरक्षा गोष्ठीमा सहभागी हुन उनीहरू सोमबार नै काठमाडौं आएका थिए। बाढीको सायमा रसुवामा निमित्त प्रमुख मात्रै रहेका थिए। विपद् परेका बेला सुरक्षा निकायमा प्रमुखहरू नै जिल्लामा नहुनुले समन्वयमा समस्या परिरहेको स्थगानीयले बताएका थिए।
रसुवा गोसाइकुण्ड गाउँपालिका वडा नं-५ पासाङल्हामु सडक खण्डस्थित उक्त बाढीको कारण सडक चर्किन जाँदा धुन्चेदेखि टिमुरेसम्म जाने बाटो पूर्ण रूपमा अवरोध भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
समन्वय गर्न प्रधानमन्त्रीको अपील
प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी आएपछि मंगलबारका तय भएका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरेका थिए। प्रधानमन्त्री ओली मंगलबार कृषि तथा पशुपंक्षी विकास विभाग र नेपाल उद्योग परिसंघको कार्यक्रममा सहभागी हुँदै थिए।
साथै, उनले आपतकालीन सहायता उपलब्ध गराउन समन्वय गरिररहेका कारण सार्वजनिक कार्यक्रम स्थगित गर्नुपरेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका थिए। ‘तिब्बतको सीमावर्ती क्षेत्रमा भएको भारी वर्षाका कारण त्रिशुली नदीमा आएको बाढीबाट प्रभावितलाई उद्धार गर्न सरकार युद्धस्तरमा लागेको छ,’ उनले लेखेका थिए।
प्रधानमन्त्रीले सरकारको तर्फबाट गरिने प्रयासमा कुनै कमी हुन नदिन निर्देशन पनि दिएका छन्। ‘यस दुःखद क्षणमा अत्यावश्यक बाहेक निर्धारित कार्यक्रमहरू स्थगित गरेर प्रभावित क्षेत्रमा भइरहेको उद्धारकार्यबारे सुरक्षा निकायसँग नियमित रिपोर्टिङ लिइरहेको छु। विपद् सम्भावित क्षेत्रमा आपतकालीन सहायता उपलब्ध गराउन तीव्र समन्वय गरिएको छ,’ प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘सरकारको तर्फबाट गरिने प्रयासमा कुनै कमी नहोस् भनेर निर्देशन दिइएको छ।’
दाउरा काट्न गएका दम्पतीको रुखले जीवन जोगायो
मङ्गलबार एकबिहानै नदी किनारमा दाउरा काट्न गएका थिए उनीहरू। दुवै जना नदी किनारमा आफ्नो काममा व्यस्त थिए। तर केही क्षणमै नदीले रौद्र रूप लियो।
चीनतिरको भारी वर्षाका कारण आएको भीषण भेल नुवाकोटको त्रिशूलीमा उर्लंदै आइपुग्यो। भाग्नको लागि न अगाडि ठाउँ छ न पछाडि। केवल नदीको रौद्र गर्जन। भाग्दै जाँदा अचानक उनीहरूको नजर नदीको बिचमा ठडिएको रुखमा पर्यो। जीवनको अन्तिम आशा सम्झेर उनीहरू त्यही रुखमा चढे।
तल त्रिशूलीको सुस्केरा। रुखको हाँगामा दम्पतीको सुस्केरा। उनीहरू रुखमा फसेको खबर स्थानीयवासीहरू हुँदै मेयरसम्म पुग्यो। तत्काल सुरक्षाकर्मी, स्थानीय सरकार र सञ्चारकर्मी घटनास्थल पुगे। केही मिडियाले उक्त दृश्यको तस्बिर र भिडियो सार्वजनिक गरेपछि सिङ्गो देशको ध्यान त्यसतर्फ मोडियो।
घण्टौँसम्म नदीको बिचमा ठडिएको रुखमा सहारा लिएका उनीहरूको अन्ततः सेनाको हेलिकोप्टरबाट उद्धार भएको छ। रुखले अन्ततः जीवन जोगाउँछ। यो भनाइले सार्थकता पाएको छ।
नुवाकोटको त्रिशूली नदीमा दाउरा काट्न गएका नुवाकोट विदुर नगरपालिका–१ लभडाँडा मिलन चौताराका ६७ वर्षीय पाल्देन तामाङ र उनकी श्रीमती ६२ वर्षीय मङ्गली तामाङको उद्धारसँगै पीडामा मलहमको काम भएको छ।
उच्च बहावमा फसेका उनीहरूको नेपाली सेनाको हेलिकप्टरद्वारा सकुशल उद्धार भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
सुरुमा उनीहरूको उद्धारमा कठिनाइ आएको थियो। उद्धार कार्य सजिलो थिएन। पहिलो हेलिकप्टर बिहान पठाइयो तर हाइटेन्सन लाइनका कारण उद्धार सम्भव भएन। त्यो प्रयास विफल भए पनि उद्धार रोकिएन।
यो घटनाले सरकार र उद्धार संस्थाहरूले विगतका भूलबाट सिकेका छन् भन्ने प्रमाणित गर्यो। अघिल्लो वर्ष नख्खु खोलाको भयानक दुर्घटनापछि अब सरकार सजग हुँदै छ भन्ने देखियो।
मङ्गलबारको भेलले रसुवागढीमा ठुलो जनधनको क्षति भएको छ तर यो एउटा आशाको दियो बनेको छ। यो एउटा दम्पतीको मात्र कथा होइन यो एउटा देशको चेतनाको कथा हो।
सेनाको हेलिकप्टरले आकाशको बाटो खोलेपछि रुखबाट दम्पतीलाई सकुशल निकालियो। त्यो क्षण नुवाकोटका जनताका लागि मात्र होइन सिङ्गो देशका लागि एउटा मानवीय विजयको क्षण बन्यो।
रुखको हाँगाबाट जीवनले जितेको क्षण हो यो। यो घटनाले एउटा पाठ पनि सिकाएको छ कि हरेक प्राकृतिक जोखिममा तत्परता, समन्वय र मानवीय संवेदनाले जीवन बचाउन सकिन्छ।
दुई जनाको शव फेला
त्रिशूली नदीको उपल्लो भूभाग नुवाकोट तर्फबाट आएको बाढीले त्रिशूली नदीमा बहाव बढेसँगै धादिङको छुट्टाछुट्टै स्थानमा दुई जनाको शव भेटिएको थियो।
गजुरी गाउँपालिका–६ बेल्खुमा र गल्छी गाउँपालिका–२ केउरेनीमा शव भेटिएका हुन्। दुवै शव पुरुषको रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।
साथै, धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित त्रिशूली किनारमा जलाउँदै गरेको एउटा शव पनि नदीले बगाएको थियो। शवदाहको बेला अकस्मात् आएको बाढीले चितासहित शव बगाएको हमालले बताए।
सतर्कता अपनाउन अनुरोध
मंगलबार बिहानको भीषण बाढीपछि जिल्ला प्रशासन कार्यालय धादिङ, नुवाकोट र रसुवाले संयुक्त रूपमा जारी गरेको थियो।
सूचनामा भारी वर्षासँगै त्रिशूली नदीको शिर क्षेत्रमा पानीको बहाव उच्च हुँदै गएकाले नदी किनारका बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको हो।
सम्भावित बाढी, पहिरो वा अन्य प्राकृतिक विपद्का घटनाबारे नजिकैको सुरक्षा निकायलाई तुरुन्तै जानकारी गराउन पनि अनुरोध गरिएको छ।
सडक सञ्जालमा चाँडै सुचारु गर्नुपर्छः अध्यक्ष तामाङ
मंगलबार बिहान आएको बाढीले चिनियाँ सिमानासँग जोडिएको रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिकामा धेरै क्षति भएको छ। सडकदेखि सुक्खा बन्दरगाहको संचरना ध्वस्त बनाइदिएको गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले नागरिकन्युजलाई जानकारी दिए।
उनका अनुसार बाढी भीषण भएकाले क्षतिको यकिन विवरण संकलन हुन सकेको छैन। साथै स्याँफ्रुबेँसीदेखि करिब १४ किमि सडकमा क्षति पुगेको उनले बताए।
‘स्याँफ्रुबेँसीदेखि करिब १४ किमि सडकमा क्षति भएको छ। यो सडकको ठाउँठाउँमा पहिरो गएका कारण हिँड्न सक्ने अवस्था छैन,’ उनले भने, ‘बाढी र पहिरोले गर्दा सडक भत्किएको छ।
रुङ्नादेखि टिमुरेसम्मको ९/१० ठाउँमा बाढीले सडक भत्काएको छ। जसका कारण तत्काल यो सडक सञ्चालन हुने अवस्था नदेखिएको उनले बताए।
सडक सञ्जालमा चाँडै सुचारु नभएको खण्डमा अवस्था जटिल हुने अध्यक्ष तामाङले जानकारी दिए।
प्रधानमन्त्रीले गरे बाढी प्रभावित क्षेत्रको अवलोकन
प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरेका छन्।
बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयबासीसँग छलफल पनि गरेका थिए।
प्रधानमन्त्री ओलीले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरुको स्थिति, नेपाल–चीन सीमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, बगाइएका मालबाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे चिन्ता र चासो व्यक्त गरेका थिए।
प्रधानमन्त्री ओली नेतृत्वको टोलीमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, प्रधानमन्त्री मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, प्रधानसेनापतिसहित चारै सुरक्षा निकायका प्रमुखलगायत थिए।
प्रकाशित: २४ असार २०८२ १९:०१ मंगलबार