मङ्गलबार एकबिहानै नदी किनारमा दाउरा काट्न गएका थिए उनीहरू। दुवै जना नदी किनारमा आफ्नो काममा व्यस्त थिए। तर केही क्षणमै नदीले रौद्र रूप लियो। चीनतिरको भारी वर्षाका कारण आएको भीषण भेल नुवाकोटको त्रिशूलीमा उर्लंदै आइपुग्यो। भाग्नको लागि न अगाडि ठाउँ छ न पछाडि। केवल नदीको रौद्र गर्जन। भाग्दै जाँदा अचानक उनीहरूको नजर नदीको बिचमा ठडिएको रुखमा पर्यो। जीवनको अन्तिम आशा सम्झेर उनीहरू त्यही रुखमा चढे।
तल त्रिसुलीको सुस्केरा। रुखको हाँगामा दम्पतीको सुस्केरा। उनीहरू रुखमा फसेको खबर स्थानीयवासीहरू हुँदै मेयरसम्म पुग्यो। तत्काल सुरक्षाकर्मी, स्थानीय सरकार र सञ्चारकर्मी घटनास्थल पुगे। केही मिडियाले उक्त दृश्यको तस्बिर र भिडियो सार्वजनिक गरेपछि सिङ्गो देशको ध्यान त्यसतर्फ मोडियो।
घण्टौँसम्म नदीको बिचमा ठडिएको रुखमा सहारा लिएका उनीहरूको अन्ततः सेनाको हेलिकोप्टरबाट उद्धार भएको छ। रुखले अन्ततः जीवन जोगाउँछ। यो भनाइले सार्थकता पाएको छ। नुवाकोटको त्रिशूली नदीमा दाउरा काट्न गएका नुवाकोट विदुर नगरपालिका–१ लभडाँडा मिलन चौताराका ६७ वर्षीय पाल्देन तामाङ र उनकी श्रीमती ६२ वर्षीय मङ्गली तामाङको उद्धारसँगै पीडामा मलहमको काम भएको छ।
उच्च बहावमा फसेका उनीहरूको नेपाली सेनाको हेलिकप्टरद्वारा सकुशल उद्धार भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
सुरुमा उनीहरूको उद्धारमा कठिनाइ आएको थियो। उद्धार कार्य सजिलो थिएन। पहिलो हेलिकप्टर बिहान पठाइयो तर हाइटेन्सन लाइनका कारण उद्धार सम्भव भएन। त्यो प्रयास विफल भए पनि उद्धार रोकिएन। यो घटनाले सरकार र उद्धार संस्थाहरूले विगतका भूलबाट सिकेका छन् भन्ने प्रमाणित गर्यो। अघिल्लो वर्ष नख्खु खोलाको भयानक दुर्घटनापछि अब सरकार सजग हुँदै छ भन्ने देखियो।
मङ्गलबारको भेलले रसुवागढीमा ठुलो जनधनको क्षति भएको छ तर यो एउटा आशाको दियो बनेको छ। यो एउटा दम्पतीको मात्र कथा होइन यो एउटा देशको चेतनाको कथा हो। सेनाको हेलिकप्टरले आकाशको बाटो खोलेपछि रुखबाट दम्पतीलाई सकुशल निकालियो। त्यो क्षण नुवाकोटका जनताका लागि मात्र होइन सिङ्गो देशका लागि एउटा मानवीय विजयको क्षण बन्यो। रुखको हाँगाबाट जीवनले जितेको क्षण हो यो। यो घटनाले एउटा पाठ पनि सिकाएको छ कि हरेक प्राकृतिक जोखिममा तत्परता, समन्वय र मानवीय संवेदनाले जीवन बचाउन सकिन्छ।
प्रकाशित: २४ असार २०८२ १०:२० मंगलबार