पछिल्लो आठ दिनदेखि उपत्यकामा मेलम्चीको पानी आएको छैन, यसबाट उपत्यकामा खानेपानी आपूर्तिमा कठिनाइ उत्पन्न भएको छ। मेलम्चीको पानी नआउँदा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले विभिन्न विकल्प अपनाएर खानेपानी आपूर्ति गरिरहेको छ ।
केयुकेएललाई अहिले उपत्यकाका केही खोलाले भरथेग गरेका छन् तर उपत्यकामा पानी आपूर्तिका लागि पर्याप्त भने छैन। मागभन्दा धेरै कम वितरण भइरहेको छ। केयुकेएलका प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले मेलम्चीको पानी उपत्यकामा आउँदा दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण हुन्थ्यो।
यतिबेला करिब १२ करोड लिटर पानी मात्र उपत्यकामा वितरण भइरहेको छ। उपत्यकामा खानेपानीको माग दैनिक ४० करोडदेखि ५० करोड लिटर हो। मेलम्चीको पानी आउँदा पनि मेलम्चीले उपत्यकामा खानेपानीको समस्या पूर्ण रूपमा समाधान गर्न सकेको थिएन तर मेलम्चीले ठूलो राहत भने दिएकै थियो। अहिले मेलम्चीबाट पानी नआउँदा समस्या थपिएको छ।
प्रमुख कार्यकारी अधिकृत पौडेलका अनुसार मेलम्चीबाट पानी नआए पनि मेलम्ची नजिकैको रिबर्मा खोलाको पानीले केही हदसम्म खानेपानी आपूर्तिको समस्या सामधान गरेको छ। उक्त खोलाबाट अहिले दैनिक पाँच करोडदेखि सात करोड लिटर पानी उपत्यका ल्याउने गरिएको छ। मेलम्ची खानेपानी आयोजनाका निर्देशक रत्न लामिछानेका अनुसार रिबर्मा खोलाबाट संकलन गरिएको पानी मेलम्चीकै सुरुङबाट काठमाडौं पठाउने गरिएको छ। रिबर्मा खोला मेलम्ची नजिकै भएकाले उक्त खोलाको पानी मेलम्चीकै सुरुङबाट काठमाडौं पठाउन सहज भएको हो।
लामिछानेका अनुसार मेलम्चीको पानी सामान्यता यो वर्षा यामभरि काठमाडौं आउने छैन। मेलम्चीको पानी आउने सुरुङको मुहानमा ढुंगा बालुवा थिग्राउने हेडवक्र्स २०७८ सालमा आएको बाढीले भत्काएपछि वर्षा यामभरि मेलम्ची बन्द गर्नुपरेको लामिछानेले बताए। ‘वर्षा याममा प्राय: मेलम्चीमा लेदो पानी बग्छ। त्यो पानी सोझै सुरुङमा पठाउने हो भने सुरुङभरि लेदोले भरिन्छ’ लामिछानेले भने, ‘त्यसैले वर्षा यामभरि सुरुङ बन्द गर्नुपर्ने बाध्यता छ।’
केयुकेएललाई उपत्यकाको खोलाको साथ
प्रमुख कार्यकारी अधिकृत पौडेलका अनुसार मेलम्ची बन्द हुँदा केयु केएललाई उपत्यकाकै केही खोलाले भरथेग गरेका छन्। यसको साथै बागमती नदीले पनि सघाएको छ। ‘मेलम्ची बन्द हुँदा रिबर्मा खोलाबाट आएको पानीबाहेक हामीले बागमती नदी, बुढानीलकण्ठ खोला र पुरानो सुन्दरी जल खोलाबाट पानी संकलन गरी उपत्यकामा पठाइरहेका छौ’, पौडेलले भने, ‘रिबर्मा खोलाबाट दैनिक पाँच करोड लिटर, बागमती नदीबाट दैनिक पाँच करोड लिटर पानी संकलन गरी वितरण गरीरहेका छौं।
यसको साथै अरू दुई करोड लिटर अन्य विकल्प प्रयोग गरिहेका छौं। अर्थात् बुढानीलकण्ठ खोला र पुरानो सुन्दरीजलबाट पानी संकलन गरिरहेका छौ ।’ पौडेलका अनुसार बुढानीलकण्ठ खोलाबाट संकलन भएको पानी काठमाडौंको बाँसबारी र पुरानो सुन्दरीजलबाट संकलन भएको पानी महाकांल चौरमा पठाउने गरिएको छ।
२०७७ सालमा पहिलोपटक मेलम्चीको पानी काठमाडौंमा भित्रिएको थियो। मेलम्चीको पानी २०७७ सालदेखि कहिले आउने त कहिले बन्द हुने भइरहेको छ। २०७७ सालबाट आउन लागेको पानी २०७८ सालमा आएको वर्षाले बन्द गरायो। २०८० सालसम्म मेलम्चीको पानी बन्द भयो। २०८० माघ १ बाट फेरि मेलम्चीबाट पानी सुरु गरिएको छ।
सिंहदरबारमा डिप बोरिङकै पानी
मेलम्चीको पानी बन्द हुँदा प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा खानेपानीको लागि फेरि पूर्ण रूपमा डिप बोरिङकै भर पर्नुपरेको छ। गत जेठको पहिलो सातादेखि सिंहदरबार परिसर भित्र एउटा धाराबाट मेलम्चीको पानी पठाउन थालिएको थियो। मेलम्चीको पानी बन्द भएपछि त्यस धारामा पनि मेलम्चीको पानी आउन छाडेको छ। मेलम्चीको पानी नआए पनि डिप बोरिङ गरी त्यस धारामा पानी पठाइरहेको पौडेलले बताए।
केयुकेएलले हाल सिंहदरबार परिसरभित्र डिप बोरिङ गरी सिंहदरबारभित्रका मन्त्रालय, निकाय, आयोग तथा सबै कार्यालयमा पानी उपलब्ध गराउँदै आएको छ। खानेपानी मन्त्री प्रदीप यादवले गत जेठ ६ गते मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय अगाडिको धारामा मेलम्चीबाट आएको खानेपानी धाराको औपचारिक रूपमा उद्घाटन गरेका थिए।
प्रकाशित: २४ असार २०८२ ०९:५७ मंगलबार