पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका-२ गोरुसिङ्गे स्थित जंगलमा एम्बुलेन्स र विंगर आपसमा ठोक्किँदा एक वृद्धाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका अनुसार सोमबार दिउँसो करिब ४ बजे भएको उक्त दुर्घटनामा अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाकी ९५ वर्षीया ईन्द्रकला रानाको उपचारका क्रममा मृत्यु भएको हो।
अर्घाखाँचीबाट बिरामी बोकेर बुटवलतर्फ जाँदै गरेको लु २ च ९२३७ नम्बरको एम्बुलेन्स र बुटवलबाट चन्द्रौटातर्फ आउँदै गरेको लु १ ज ४२८० नम्बरको विंगर एकआपसमा ठोक्किएका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनमणि अधिकारीले घाइतेहरूको युनाइटेड अस्पताल र सामुदायिक अस्पतालमा उपचार भइरहेको जानकारी दिए।
उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित: २३ असार २०८२ १९:५७ सोमबार