समाज

‘चोभार गल्छीका प्राकृतिक ढुंगा हटाउन्नौं’

सहरी विकास मन्त्रालयले चोभार गल्छी काट्ने र त्यहाँ रहेका प्राकृतिक ढुंगा नहटाउने प्रस्ट पारेको छ। सरकारले चोभारको गल्छी काट्न लागेको र त्यहाँ रहेका प्राकृतिक ढुंगा हटाउन लागेको भनी प्रचार भएपछि स्थानीय आक्रोशित भएका छन्। उनीहरूले सरकारी कर्मचारीलाई गल्छीमा केही काम गर्न दिएका छैनन्। गल्छीमा फोहोर हटाउने नाममा त्यहाँ रहेका पुरातात्विक संरचना तथा ऐतिहासिक महत्व नष्ट हुने हो कि भन्ने चिन्ता स्थानीयको छ।

मन्त्रालयले बिहीबार विज्ञप्ति प्रकाशित गरी चोभार गल्छी चौडाइ नगरी गल्छीभन्दा माथि विगतमा बगाएर ल्याएका फोहोर हटाउने तथा पहिरो जान सक्ने सम्भावित क्षेत्र पहिचान गरी रोकथाम गर्ने सरकारको उद्देश्य रहेको जनाएको छ।

‘गल्छी चौडा गर्ने तथा परापूर्वकालदेखि प्राकृतिक रूपमा रहेका चट्टान हटाउने कुनै पनि उद्देश्य मन्त्रालयको छैन’, मन्त्रालयले बिहीबार निकालेको विज्ञप्तिमा भनिएको छ। चोभार गल्छीको धार्मिक, सांस्कृतिक तथा प्राचीन पहिचानलाई अक्षुण्ण राख्दै गल्छी वरपरका क्षेत्रमा हुन सक्ने डुबान न्यूनीकरणका लागि गल्छीभन्दा माथि विगतमा बगाएर ल्याएका फोहोर हटाउने, पहिरो जानसक्ने सम्भावित क्षेत्र पहिचान गरी रोकथामका कार्य गर्ने मन्त्रालयको उद्देश्य रहेको विज्ञप्तिमा जनाइएको छ। काठमाडौं उपत्यकाको पानीको निकास विन्दु चोभार गल्छी हो।

यस विषयमा दीर्घकालीन समाधानका लागि आवश्यक प्राविधिक अध्ययन गरी कार्ययोजना तयार गर्ने मन्त्रालयको योजना रहेको विज्ञप्तिमा उल्लेख छ। २०८२ जेठ १४ गते विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको ३२औं बैठकले ‘अविरल वर्षा समयमा चोभार गल्छीबाट हुने नदी प्रवाहमा अवरोध सिर्जना हुँदा वरपरका क्षेत्रमा डुबान हुने गरेकाले आगामी दिनमा उक्त समस्या दोहोरिन नदिन आवश्यकताअनुसार नेपाली सेनासँग समन्वय गरी विपद् जोखिम न्यूनीकरण गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिने’ भनी निर्णय गरेको थियो। उक्त निर्णय कार्यान्वयन गर्न सरकार अप्ठ्यारोमा परेको छ।

चोभार गल्छीमा पाँचवटा ठूला–ठूला ढुंगा रहेका छन्। ती ढुंगा प्राकृतिक रूपमा पहिल्यैदेखि रहेको स्थानीयको भनाइ छ। अधिकारसम्पन्न बागमती सभ्यता विकास समितिका अधिकारीहरू भने प्राकृतिक रूपमै गल्छीमा ढुंगा रहेको पुष्टि भएमा नहटाउने तर नदीले बगाउँदै ल्याएको पाइएमा ढुंगा हटाउने बताइरहेका छन्। यही विषयमा स्थानीय र सरकारी प्रतिनिधिबिच विवाद छ।

बागमती विकास समितिका प्रतिनिधिहरू वर्षौंवर्षदेखि बागमतीले बगाउँदै ल्याएको ग्रेगानले नदी सतह बढेको तथा फोहोर थुप्रिएकाले त्यस क्षेत्रमा ग्रेगान हटाउन लागेको जनाएका छन्। गल्छीमा अड्किएका ग्रेगान नहटाएमा यस वर्ष बर्खायाममा बागमतीमा पानी प्रवाहमा अवरोध आउने र त्यसले त्यहाँवरिपरि डुबान समस्या ल्याउने विकास समितिका प्रतिनिधिहरूको भनाइ छ। यसअघि बागमती विकास समितिका प्राविधिक कर्मचारीले चोभार गल्छीमा पुगी ग्रेगान तथा ढुगांका बारेमा अनुगमन तथा निरीक्षण गरेका थिए।

निरक्षणपछि प्राविधिकहरूले चोभार गल्छीभन्दा माथि ठूला–ठूला ढुंगा खसेको र थप खस्न सक्ने अवस्था रहेको भनी प्रतिवेदन तयार गरेका थिए। प्रतिवेदनमा ‘ललितपुर– १८ र कीर्तिपुर– ६ बीचको चोभार क्षेत्रअन्तर्गत चोभार गल्छीमा दुवै किनारातर्फबाट पहिरो गई खोलाको सतह करिब दुई मिटर माथि उठेको र गल्छीमा झरेका ठूलाठूला ढुंगा र थुप्रिएका माटोका कारण बहाब अवरुद्ध हुनुका साथै बर्खायामअगावै नहटाएमा उक्त खण्डअन्तर्गत सक्षम बस्तीलगायत आसपासका क्षेत्रमा खतराको सम्भावना रहेको’ भन्ने व्यहोरा उल्लेख गरिएको छ।

प्रकाशित: २० असार २०८२ ०८:२१ शुक्रबार

# Ministry of Urban Development # Nagarik