नेपाललाई कृषि प्रधान देश भन्ने गरे पनि हरेक वर्ष कृषि क्षेत्र घट्दै गएको छ। पछिल्लो समय रोपाइँ गर्न योग्य जमिन हरेक वर्ष घट्दै गएको छ। यसले समग्र कृषि उत्पादनमा प्रभाव पार्ने निश्चित छ।
एक अध्ययन अनुसार नेपालमा कृषि क्षेत्र १.७५ प्रतिशतले घट्दै गएको हो। हरेक वर्ष कृषि योग्य जमिन बाँझोमा परिणत हुने र बाँझोबाट विस्तारै वन क्षेत्रमा परिणत हुन थालेको छ। अहिले गाउँ छाडेर सहर जाने प्रवृत्तिले प्राथमिकता पाउँदा गाउँका बस्ती पातलिँदै गएका छन्। कतिपय ठाउँमा त सिंगो गाउँ नै सुनसान छ। बस्ती खाली भएका गाउँ वन क्षेत्रमा परिणत हुँदै गएका छन्। यस क्षेत्रलाई पनि वन क्षेत्रका रूपमा समेट्न थालिएको छ। त्यसैले पनि वन क्षेत्र ह्वात्तै बढेको हो। वन मन्त्रालयका कर्मचारीहरू भने वन क्षेत्र बढ्नु मुलुकका लागि अत्यन्त सकारात्मक विषय भएको बताउँछन्।
वन तथा वातावरण मन्त्रालय मातहतको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले सन् २०२४ को डिसेम्बरमा प्रकाशित गरेको विस्तृत अध्ययन प्रतिवेदनमा नेपालमा कृषि क्षेत्र घट्दै र वन तथा बुट्यान क्षेत्र बढ्दै गएको उल्लेख छ। अध्ययन प्रतिवेदनअनुसार अहिले नेपालमा कृषि क्षेत्र २२.५९ प्रतिशत र वन तथा बुट्यान क्षेत्र ४६.०८ प्रतिशत पुगेको छ।
कृषि तथा खेतीयोग्य जमिन बाँझो राख्ने प्रवृत्तिले हरेक वर्ष कृषि क्षेत्र घट्दै गएको र वन तथा बुट्यान क्षेत्र बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ। प्रशिक्षण केन्द्रका कर्मचारीका अनुसार र खेती नगरेपछि बाँझिँदै गरेको जमिन स्वाभाविक रूपमा वन तथा बुट्यान क्षेत्रमा परिणत हुने गरेको छ। त्यसैले वन क्षेत्र बढ्दै गएको हो। अर्कातिर हरेक वर्ष कृषि क्षेत्र आवास र पूर्वाधार निर्माणजस्ता क्षेत्रमा परिवर्तन हुँदै गएका छन्। यसकारण पनि कृषि क्षेत्र घट्दै गएको बताइएको छ ।
प्रशिक्षण केन्द्रले तयार गरेको प्रतिवेदनमा सन् २०१९ र २०२२ को अवस्था विस्तृत व्याख्या गरिएको छ। प्रतिवेदनमा नेपालमा वन क्षेत्र तराई, चुरे र मध्यपहाडी क्षेत्रहरूमा वृद्धि भएको उल्लेख छ। अध्ययनले बुट्यान र केही कृषि क्षेत्र वन क्षेत्रमा रूपान्तरण भएको देखाएको छ। तीन वर्षमा चट्टान क्षेत्र मुख्यतया घाँसे मैदानमा परिणत भएको प्रतिवेदनमा जनाइएको छ। प्रतिवेदनअनुसार सन् २०२२ मा नेपालमा ४३.३८ प्रतिशत (६३ लाख ९९ हजार ३४१ हेक्टर) क्षेत्रफल वन थियो।
त्यसअघिको प्रतिवेदनअनुसार सन् २०१९ मा ४१.७१ प्रतिशत (६१ लाख ५२ हजार ८०६ हेक्टर) वन क्षेत्र थियो। सन् २०१९ को तुलनामा २०२२ मा १.६७ प्रतिशत भू–भागमा चट्टान, हिउँ, हिमनदी, वनबुट्यान, नदीबगर, निर्मित क्षेत्र, जल क्षेत्र र खाली जग्गा समावेश गरिएको थियो। प्रतिवेदनअनुसार सन् २०१९ सबैभन्दा बढी (४१.७१ प्रतिशत) भूभाग वनले ढाकिएको थियो भने दोस्रोमा कृषि क्षेत्र (२४.३४ प्रतिशत) र तेस्रोमा घाँसे मैदान (१३.२७ प्रतिशत) रहेको जनाइएको छ। प्रतिवेदनमा सन् २०२२ मा नेपालको तराईमा सबैभन्दा बढी (६५.४ प्रतिशत) भूभाग कृषिक्षेत्रका रूपमा रहेको उल्लेख गरिएको छ।
यसैगरी चुरे क्षेत्र, मध्य पहाड र उच्च पहाडमा सबैभन्दा बढी भूभाग क्रमश: ७३.६७ प्रतिशत, ६४.५४ प्रतिशत र ५७.२० प्रतिशत वन क्षेत्रले ओगटेको छ भने उच्च हिमाली क्षेत्रमा सबैभन्दा बढी (४१.५९ प्रतिशत) भूभाग घाँसे मैदानले ओगटेको छ। प्रतिवेदनमा घाँसे मैदानका विषयमा पनि उल्लेख गरिएको छ। प्रतिवेदनअनुसार सन् २०१९ को तुलनामा सन् २०२२ मा घाँसे मैदानहरूको क्षेत्रफल नेपालको सबै भौगोलिक क्षेत्रमा बढेको देखिन्छ। अध्ययनले सन् २०१९ को तुलनामा सन् २०२२ मा वन क्षेत्र, निर्मित क्षेत्र र घाँसे मैदान क्रमश: १.६७ प्रतिशत, २.७० प्रतिशत र १.४४ प्रतिशतले वृद्धि भएको छ।
प्रकाशित: १७ असार २०८२ ०९:४८ मंगलबार