प्राकृतिक विपद्को सामना गर्न गरिने उद्धार अभ्यासका कारण काठमाडौं उपत्यकाका सिमसार क्षेत्रहरूमा आश्रय लिइरहेका आगन्तुक चराहरूको वासस्थान जोखिममा परेको छ।
चराहरूको संवेदनशील वासस्थानमै मानवीय गतिविधि बढाउँदा उनीहरूको प्राकृतिक जीवनचक्रमा गम्भीर असर परेको भन्दै संरक्षणकर्मीहरूले चिन्ता व्यक्त गरेका छन्।
काठमाडौं उपत्यकाका दह, तलैया तथा सिमसार क्षेत्रहरू लामो दूरी पार गरेर आउने जलअप्सरा, पहेँलो जुनबकुल्ला, मरुल, हरि हाँस, बेल्चाठुँडे हाँस, सिन्दुरे हाँस र जलेवाजस्ता दर्जनौं प्रजातिका चराका लागि महत्त्वपूर्ण विश्राम स्थल र आहार क्षेत्र हुन्। यी क्षेत्रहरूले चराहरूको वार्षिक प्रवास चक्रमा रणनीतिक महत्त्व राख्छन्।
तर, पछिल्लो समय जलवायु परिवर्तनका कारण निम्तिन सक्ने बाढी, डुबानजस्ता विपद्को तयारी स्वरूप गरिने उद्धार अभ्यास यिनै संवेदनशील क्षेत्रमा केन्द्रित हुन थालेको पाइएको छ।
संरक्षणकर्मीहरुका अनुसार, नदी–खोलामा हुने विपद्को तयारी शान्त दह–तलैयामा गर्दा त्यसले चराहरूको प्रवास मार्ग र बासस्थानमा प्रत्यक्ष नकारात्मक असर पार्छ। अभ्यासका क्रममा हुने कोलाहल र मानवीय चापले चराहरू त्रसित भई आफ्नो वासस्थान छाड्न बाध्य हुन्छन्।
विज्ञहरूले विपद् व्यवस्थापनको अभ्यास आवश्यक भए पनि त्यसका लागि चरामैत्री स्थानको छनोट गरिनुपर्नेमा जोड दिएका छन्। उनीहरूका अनुसार, यस्ता अभ्यासहरू सञ्चालन गर्नुअघि त्यस क्षेत्रको पर्यावरणीय प्रभाव मूल्यांकन गरिनुपर्छ।
संरक्षणविद्हरूले उपत्यकाका सिमसार क्षेत्रमा हुने यस्ता अभ्यासहरूलाई नियन्त्रण गरी वैकल्पिक स्थान पहिचान गर्न र मानवीय गतिविधिलाई नियमन गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
समयमै यसतर्फ ध्यान नदिइए उपत्यकाका सिमसार क्षेत्रहरूले आफ्नो जैविक पहिचान गुमाउने र यी क्षेत्रमा आश्रित आगन्तुक चराहरू सधैँका लागि विस्थापित हुने जोखिम बढेको छ।
सबै तस्बिर: सुप्रदीप्त न्यौपाने/नागरिक
प्रकाशित: १५ असार २०८२ १५:२६ आइतबार