समाज

द्रुत विकासको नवयुगमा चीनको नयाँ सिजाङ

नेपाल र चीनबिच  कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठको अवसरमा यहाँ चीनका विभिन्न सहरसँग भगिनी सम्बन्ध स्थापना भएका सहरबिच  सहकार्य, साझेदारी र अनुभव आदानप्रदान कार्यक्रम आयोजना गरियो।

यहाँस्थित नेपालको महावाणिज्य दूतावास र सिजाङ स्वायत्त प्रदेश सरकारको वैदेशिक विभागद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा दुई देशबिच को सम्बन्धलाई अझ बलियो र मधुर बनाउने विषयमा छलफल भएको थियो।

सन् १९९९ मा बनेपा नगरपालिका र सिगात्से नगरबिच  सम्बन्ध स्थापना भएर शुरू भएको भगिनी सम्बन्ध पच्चीसौं वर्षमा प्रवेश गरेको छ। विगत २५ वर्षमा लिन्ची–पोखरा, ल्हासा–काठमाडौं, सान्नान–भक्तपुर, करुऔ–जिरी, नाक्चु–टोखा र सिगात्से–भरतपुरबिच  सम्बन्ध कायम भइसकेको छ। निकट भविष्यमा अलिर, धुलिखेल नगरबिच  सम्बन्ध स्थापना हुने भएको छ।

भगिनी सम्बन्ध कायम भएका नगरपालिकाहरूलाई समेटेर पहिलोपटक आयोजना गरिएको यो कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए।

प्रतिनिधिमण्डलमा बागमती प्रदेश सरकार र काठमाडौं, पोखरा, भरतपुर महानगरपालिका तथा धुलिखेल, बनेपा, जिरी, टोखा र भक्तपुर नगरपालिकाका प्रतिनिधि गरी २१ जनाको सहभागिता थियो।

सिजाङ स्वायत्त प्रदेशका ल्हासा, सिगात्से, लिन्ची, नाक्चु, सान्नान, करुओ, नगर र अलि ‘प्रिफेक्चर’का प्रतिनिधि सहभागी थिए।

त्यस अवसरमा सिजाङ सरकारका उपाध्यक्ष झाओ पिङले यो कार्यक्रमले चीन र नेपालबिच को मैत्रीपूर्ण सम्बन्धमा नयाँ आयाम थपिने र नगरहरूबिच को आत्मीय सम्बन्ध विकासमा रूपान्तरित हुने विश्वास व्यक्त गरे।

महानगरप्रमुख आचार्यले चिनियाँ पक्षबाट प्राप्त विकास सहायता र नेपालप्रति देखाइएको समान भावले साझा भविष्य निर्माणमा नेपालका लागि प्रेरणा भएको बताए।

चीनको विकासबाट नेपालले धेरै सिक्न सक्ने बताउँदै उनले राजनीतिक प्रतिबद्धताले विकासका लक्ष्य हासिल गर्न सकिने उदाहरण चीनले प्रस्तुत गरेको बताए।

बागमती प्रदेशका प्रमुख सचिव भूपाल बरालले नेपाल र सिजाङ स्वायत्त क्षेत्रका सहरहरूबिच  पर्यटन, संस्कृति, शिक्षा, व्यापार र प्रविधिका क्षेत्रमा सहकार्य गर्नुपर्नेमा जोड दिए।

यहाँस्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले भगिनी सहरहरूसँगको सम्बन्धलाई अझ बलियो बनाउन आफ्नो तर्फबाट हरसम्भव प्रयास हुने प्रतिबद्धता व्यक्त गर्दै लामो समयदेखि नेपालको सामाजिक–आर्थिक विकासमा सिजाङ र चीन सरकारले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गरे।

त्यस अवसरमा धुलिखेल र अलि प्रिफेक्चरबिच  भगिनी सम्बन्ध स्थापना गर्ने आशयपत्रमा हस्ताक्षर भएको थियो। साथै, नेपाली सहभागीले दुई देशबिच को पारस्परिक सम्बन्ध र खासगरी भगिनी सहरहरूबिच को सम्बन्धमार्फत नेपाल र चीनका जनताबिच को सम्बन्धलाई अझ मधुर बनाउँदै पारस्परिक लाभका क्षेत्रमा अर्थपूर्ण परिणाम ल्याउने विश्वास व्यक्त गरे।

यसैबिच , सिजाङ स्वायत्त प्रदेश स्थापना भएको साठीऔं वर्षगाँठको अवसरमा चिनियाँ विदेश मन्त्रालय र सिजाङ स्वायत्त प्रदेश विदेश विभागको निमन्त्रणामा नेपाल, भारत, श्रीलङ्का, थाइल्यान्ड, मङ्गोलिया, जापान, रुसी महासङ्घ र स्विट्जरल्यान्डका वरिष्ठ पत्रकार र प्राध्यापक सम्मिलित १५ सदस्यीय प्रतिनिधिमण्डलले सिजाङका विभिन्न स्थानको भ्रमण गरी त्यहाँको सामाजिक–आर्थिक विकासबारे जानकारी लिएको छ।

चीनको दक्षिणपश्चिमी भागमा अवस्थित १२ लाख वर्गकिलोमिटर क्षेत्रमा फैलिएको यो प्रदेशको अधिकांश भाग चार हजार मिटरभन्दा माथि छ। ३६ लाख जनसङ्ख्या भएको यो प्रदेशमा तिब्बतीबाहेक ५० भ जति जनजातिको बसोबास छ। यहाँ हान, हुइ, मेम्बा, लोबा, नाक्सी, नु, दुलोङलगायत जातजाति शान्तिपूर्ण रूपमा सहयोग गर्दै सामाजिक उन्नतिमा लागेका छन्।

दुई वर्षअघि सरकारले सार्वजनिक गरेको विवरणअनुसार ३६ लाख जनसङ्ख्या भएको यो प्रदेशमा तिब्बतीबाहेक ५० भन्दा बढी जनजातिको बसोबास छ। यहाँ हान, हुइ, मेम्बा, लोबा, नाक्सी, नु, दुलोङलगायत जातजाति शान्तिपूर्ण रूपमा सहयोग गर्दै सामाजिक उन्नतिमा लागेका छन्।

दाङ र शेर्पा समुदायको पनि बसोबास रहेको सिजाङ प्राचीनकालदेखि नै चीनको अभिन्न भूमिका रूपमा रहेको विदेश विभागका उपमहानिर्देशक छङ फोङ बताउँछन्। ‘यी सबै जातजाति विशाल चीनको परिवारका प्रिय सदस्य हुन्। सन् २०१२ मा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को १८औं राष्ट्रिय महाधिवेशनले सिजाङ स्वायत्त क्षेत्रलाई देशको बाँकी भागसँगै समृद्धि र आधुनिकीकरणको यात्रामा अघि बढाउने निर्णय गरेको हो। पार्टी महासचिव सी चिनफिङको रणनीतिक दृष्टिकोणसहित जनताकेन्द्रित विकासलाई अघि बढाउँदै चीनलाई विश्वमञ्चमा पुनर्जनन गर्ने हो। सिजाङको विकासलाई हामीले ठूलो महत्त्व दिएका छौं,’ उनले भने।

उपमहानिर्देशक छङका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व, चिनियाँ विशेषतासहितको समाजवाद र क्षेत्रीय जातीय स्वायत्तताको प्रणाली कार्यान्वयन गर्दै सिजाङलाई विकासको नयाँ युगतर्फ डोर्याउने, राष्ट्रिय एकीकरणको रक्षा र जातीय एकतालाई बलियो बनाउने, सिजाङ र यसका बासिन्दाहरूमा समृद्धि ल्याउने, उनीहरूलाई एकताबद्ध गर्दै समग्र प्रदेशको दीर्घकालीन विकासका लागि बलियो आधार बनाउने हो। जनताको जीवन सुधार्ने र सामाजिक–आर्थिक विकासमा उनीहरूको एकतालाई बलियो बनाउँदै पर्यावरण र वातावरणीय संरक्षणलाई प्राथमिकता दिने हो।

अन्तरराष्ट्रिय जगत्मा सिजाङको बेग्लै पहिचान स्थापित गर्न र विगत ६० वर्षमा यो प्रदेशमा भएका विकासबारे अन्तरराष्ट्रिय समुदायलाई जानकारी दिन र प्रत्यक्ष देखाउन लिन्चीमा ‘द चाइना सिजाङ ट्रान्स हिमालय फोरम अफ अन्टरपिनर’ शनिबार सम्पन्न भयो। क्षेत्रीय र पारस्परिक सहयोगको यो मञ्चमा उद्यमशीलता, विकास, वाणिज्य र व्यापारका विविध आयाममा छलफल भएको छ।

चीनको विदेश मन्त्रालय र सिजाङ स्वायत्त प्रदेशको विदेश विभागको संयुक्त आयोजनामा भएको सम्मेलनमा चीनका लागि नेपालका राजदूत कृष्णप्रसाद ओलीले नेपालको विकास प्रयासमा चीन सरकारबाट प्राप्त निरन्तर सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै यस्ता सम्मेलनले नेपाललगायत विकासको बाटोमा अघि बढेका अल्पविकसित देशलाई ज्ञान आर्जनमा सहयोग पुग्ने बताए।

सन् २०१८ मा ट्रान्स हिमालय फोरमका रूपमा स्थापना भएको यो मञ्चले हालसम्म चारवटा सम्मेलन आयोजना गरिसकेको छ। पचास देशका २० भन्दा बढी अन्तरराष्ट्रिय सहायता निकाय, विद्वत् वर्ग, राजनीतिक नेतृत्व, कूटनीतिज्ञ र नागरिक समाजका सदस्यसहित चार सय जनाले भाग लिइसकेका छन्। पर्यावरणीय सन्तुलन कायम गर्ने र संस्कृति संरक्षण गर्दै हिमाली क्षेत्रका राष्ट्रहरूलाई एकताबद्ध गर्ने मञ्चको उद्देश्य भएको सिजाङ सरकारले जनाएको छ। शरच्चन्द्र भण्डारी/रासस

प्रकाशित: १५ असार २०८२ १२:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App