काठमाडौंको टोखामा विष्णुमति खोलामा आएको बाढीले एउटा कार बगाएको छ। कारमा सवार एक जना महिलाको भने सकुशल उद्धार गरिएको छ।
उद्धार हुनेमा दाङको तुलसीपुर घर भइ हाल टोखा बस्ने ३४ वर्षीया भावना ओली रहेकी छिन्। यात्रुसहित कार बगाएको सूचनापश्चात ४५ जना प्रहरी खटिएर खोजी गर्ने क्रममा कार बानियाटार पुलमा अड्किएको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।
त्यहाँबाट कारभित्र सवार महिलालाई उद्धार गरी उपचारका लागि ग्रीन सिटी अस्पताल पठाइएको छ। उनको अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ। खोलामा खसेको कारलाई पनि राति नै क्रेनको सहायताले निकालिएको छ।
उक्त कार हिजो (बुधबार) राति १०:१० बजे काठमाडौंको टोखा नगरपालिका-६ ग्रान्डी अस्पताल पछाडि विष्णुमति खोलामा खसेको थियो।
खोला किनारको सडकमा गुडिरहेको बा.प्र.०१-०३१ च ६१४१ नम्बरको कार सडकबाट खोलामा खस्न लागेपछि चालक कञ्चनपुरको शुक्लाफाँट नगरपालिका-१ घर भइ हाल काठमाडौं महानगरपालिका-४ धुम्बाराही बस्ने ३५ वर्षीय अंकुश सिंह किनारमा हामफालेका थिए।
प्रकाशित: १२ असार २०८२ ०८:०४ बिहीबार