स्वास्थ्य मन्त्रालयले हालै प्रस्तावित गरेको ‘ओएनएम’ विरुद्ध रेडियोग्राफर तथा रेडियोग्राफी टेक्नोलोजिस्टहरूले आज (मंगलबार) माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शनमा गरेका छन्।
‘हाम्रो पेसा, हाम्रो पहिचान ! रेडियोग्राफरको सम्मान, संरचनामा स्थान!’ ‘ओएनएम संशोधन गरियोस् !’ ‘रेडियोग्राफी छुट्टै विभाग अस्पतालमा गठन गरियोस् !’ जस्ता नाराहरू राखेर उनीहरूले प्रदर्शन गरेका हुन्।
उनीहरूले मन्त्रालयको उपेक्षा र पक्षपाती नीतिको विरोध गर्दै स्वास्थ्य सेवा प्रणालीमा रेडियोग्राफरहरूको योगदानलाई बेवास्ता गरिएको र दरबन्दी समायोजनमा विभेद गरिएको आरोप लगाएका छन्।
कालो पट्टी बाँधेका सहभागीहरूले योग्यता अनुसारको दरबन्दी पुनर्संरचना, रेडियोग्राफर र रेडियोलोजिस्टबीचको कार्यक्षेत्र स्पष्ट छुट्याउने, र सेवा सुरक्षाको सुनिश्चिततासहितका माग राखेका छन्।
सरकारी रेडियोग्राफी सङ्घका अध्यक्ष सह–प्राध्यापक दामोदर रोक्काले भने, ‘हामी स्वास्थ्य मन्त्रालयले ल्याएको ‘ओएनएम’ तत्काल संशोधन गरियोस् माग गर्दैछौँ। हाम्रो आन्दोलनको ६ दिन भइसकेको छ, हामी रेडियोग्राफरहरूले कालो पट्टी बाँधेर अत्यन्त मर्यादित रूपमा विरोध गरिरहेका छौँ। तर मन्त्रालयले एकपटक पनि औपचारिक संवादको पहल गरेको छैन, जुन अत्यन्तै असंवेदनशील कार्य हो।’
उनले थपे, ‘हामी चिकित्सकहरूजस्तो आन्दोलन सुरु गरेको एक–दुई दिनमै आकस्मिकबाहेकका सबै सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका होइनौँ। हामीले अस्पतालको सेवा अवरुद्ध नगरी, अत्यन्त संयमित र मर्यादित ढङ्गले विरोध गर्दै आएका छौँ। तर, स्वास्थ्य मन्त्रालयले हाम्रो यस शालीन आन्दोलनलाई कमजोरी ठानेको हो कि भन्ने शङ्का गर्नुपर्ने स्थिति आएको छ।’
उनले कटाक्ष गर्दै भने, ‘लोकतान्त्रिक मुलुकमा आन्दोलनरत कर्मचारीहरूसँग संवाद नगर्नु आफैँमा लोकतान्त्रिक मूल्यको अपमान हो। मन्त्रीज्यू लोकतन्त्रको प्रतिनिधि हो भने किन यस्तो गैर–लोकतान्त्रिक व्यवहार ? हामी चिकित्सकजस्तो सेवामा अवरोध गरेका छैनौँ, तर मन्त्रालयले देखाएको उपेक्षा हेर्दा अब सेवामा अवरोध नगरी आवाज नसुन्ने प्रवृत्ति मौलाउँदै गएको स्पष्ट देखिन्छ।’
रोक्काले समाधानका लागि एक सकारात्मक प्रस्ताव पनि अघि सारेका छन्। उनी भन्छन्, ‘मन्त्रालयले तत्काल सबै मातहतका अस्पतालहरूमा परिपत्र पठाओस्- जसमा ‘रेडियोलोजी’ र ‘रेडियोग्राफी’ स्वास्थ्य सेवा ऐन तथा नियमावलीअनुसार अलग समूह भएको स्पष्ट उल्लेख होस्। हिजोको संसद्मा स्वास्थ्यमन्त्री स्वयंले यो कुरा स्पष्ट गरिसक्नुभएको छ। अब त्यसको कार्यान्वयन स्वरूप अस्पतालहरूमा रेडियोग्राफी विभाग छुट्टै गठन गर्न निर्देशन दिनुपर्छ।’
उनले चेतावनी दिँदै भने, ‘हामी अझै पनि संवाद र समाधानको पक्षमा छौँ। तर हाम्रो शान्तिपूर्ण आन्दोलनलाई कमजोरी ठानेर बेवास्ता गर्ने हो भने हामी थप सशक्त सङ्घर्षमा जान बाध्य हुनेछौँ।’
सो अवसरमा नेपाल रेडियोलोजिकल सोसाइटीका अध्यक्ष मुकेश झाले पनि आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै ‘ओएनएम’ तत्काल संशोधन गर्न मन्त्रालयलाई आग्रह गरे।
यसअघि पनि सम्बन्धित सङ्घसंस्थाले पटक–पटक संवादको प्रयास गरे पनि मन्त्रालयले सुनुवाइ नगरेको उनीहरूको गुनासो छ। अन्य पेशागत सङ्गठनहरूले पनि यस प्रदर्शन र विरोधको पक्षमा समर्थन जनाएका छन्।
प्रकाशित: १० असार २०८२ १६:४० मंगलबार