समाज

पाँचखालका ६ हजार घरमा स्वच्छ खानेपानी

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका ६ हजार परिवारका घरमा खानेपानी पुर्‍याइएको छ। पाँचखाल–सुनकोसी खानेपानी आयोजनाको काम सकिएपछि शनिबारदेखि यहाँका ३१ हजार उपभोक्ताले घरमै खानेपानी सुविधा पाएका छन्।  

आयोजनाले शनिबार बिहानदेखि औपचारिक रूपमा एकैपटक ६ हजार परिवारका घरमा स्वच्छ पिउने पानी वितरण गरेको हो। निर्माणाधीन खानेपानी आयोजनाको भौतिक काम करिब ९९ प्रतिशत सम्पन्न भएको छ। गत असोजको बाढीपहिरोले क्षति पुर्याएको आयोजनाको मर्मत र पुनर्निर्माण गरेपछि पाँचखाल नपा–९ डाँडागाउँस्थित पानी प्रशोधन केन्द्रमा सुनकोसी नदीको स्रोतबाट पानी ल्याई परीक्षण गरेर औपचारिक रूपमा वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले बताए। पानी प्रशोधन केन्द्रको क्षमता ३९ लाख लिटर छ। केन्द्रसँगै रहेको ओभरहेड ट्यांकीमा पानी जम्मा गरी प्रत्येक बस्तीमा परीक्षण गरेर शनिबारदेखि सबैका घरमा खानेपानी नियमित गरिएको लामिछानेले बताए।  

‘वितरणका क्रममा कतै फल्ट देखिए समितिको कार्यालयमा सूचना दिन सार्वजनिक अपिल गरिसकेका छौं,’ लामिछानेले भने। उनको भनाइअनुसार स्रोतबाट पूर्ण क्षमतामा प्रतिसेकन्ड ८४ लिटरका दरले पानी प्रशोधन केन्द्रमा ल्याई उपभोक्ताका घरमा पठाइएको छ।  

उपभोक्ता समितिले गत असोजमा पहिलो चरणमा खानेपानी वितरण गर्ने योजना बनाएको थियो, तर बाढीपहिरोले क्षति पुर्याएपछि यो योजना प्रभावित भएको थियो। बाढीपहिरोले आयोजनाको मुहान क्षेत्रमा डुबान गर्नुका साथै करिब ७५ मिटर घेरा पर्खाल भत्काएर लेदो जमाएको थियो। ४८ स्थानमा वितरण पाइप र केही संरचनामा १ करोड ७० लाख रुपैयाँको क्षति भएको थियो। खानेपानी आयोजना २० वर्षसम्म नगरको जनसंख्या प्रक्षेपण गरेर डिजाइन गरिएको हो।  

दातृ निकायसँगको समन्वय र छलफलमा समय थप्दै आयोजना सफल बनाइएको छ, तर औपचारिक उद्घाटन बाँकी छ। प्रतिघण्टा ३ लाख २ हजार ४०० लिटर पानी तान्न सकिने र आयोजनाको लक्ष्यअनुसार लगातार २० घण्टा पानी तान्दा ६० लाख ४८ हजार लिटर पानी उपभोग गर्न सकिने प्रमाणित भएको छ।  

आयोजनाअन्तर्गत भौतिक संरचनातर्फ सुनकोसी किनारमा ६ वटा इनार, ४–४ लाख लिटर क्षमताका २ वटा पानी संकलन ट्यांकी, ३ लाख लिटरको ‘ब्याकवास ओभरहेड ट्यांकी,’ १० वटा नयाँ वितरण ट्यांकी, ६ वटा ‘ब्रेक प्रेसर ट्यांकी’ र १५ वटा पालेघर निर्माण सम्पन्न भएका छन्। त्यसैगरी ५ वटा जेनेरेटर राख्ने घर, ट्यांकी वरपर पर्खाल र तारबार लगाउने, ६ किलोमिटर पानीको मुख्य प्रसारण लाइन, ३७ किलोमिटर शाखा प्रसारण लाइनमध्ये ३५ किलोमिटर, २३० किलोमिटर वितरण पाइप लाइनमध्ये २२० किलोमिटर पाइप लाइन सम्पन्न भएको समितिले जनाएको छ। कुल ६ हजार ३७ धारा सञ्चालनमा छन्।  

सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच २०७७ साल असार १५ गते अढाई वर्ष अर्थात् २०७९ साल माघमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो। तर, कोरोना संक्रमण, मेलम्चीमा आएको बाढी र गत असोजको बाढीपहिरोले पूर्वाधारमा क्षति पुर्याएकाले समय थप्दा आयोजना लम्बिएको हो। पाँचखाल नगरमा खानेपानी व्यवस्थापन गर्न भुम्लु गाउँपालिका–१० बिमिरेस्थित सुनकोसी नदीकिनारमा इनार र लिफ्टिङ प्रविधिका भौतिक पूर्वाधार निर्माण गरिएको छ।  

१ अर्ब ४७ करोड ४३ लाख ६० हजार रुपैयाँ लागतमा निर्माण सम्पन्न हुने आयोजनाबाट पाँचखाल नगरपालिकाको वडा नं २, ३, ४, ६, ७, ८, ९, १०, ११ र १२ का ६ हजार ३७ घरका ३१ हजार ४१५ नागरिक लाभान्वित भएका छन्। जसमा प्रतिव्यक्ति १९२.०५ लिटर पानी दैनिक उपभोग गर्न सकिने प्रक्षेपण गरिएको छ। सन् २०४० सम्म ४५ हजार नागरिक लाभान्वित हुने प्रक्षेपण छ।  

आयोजनाका लागि सम्झौताअनुसार दातृ निकाय, नेपाल सरकारको बजेटसँगै कुल योजनाको ५ प्रतिशत अर्थात् ११ करोड ५ लाख ५ हजार ३०० रुपैयाँ प्रतिपरिवारले १८ हजारका दरले रकम बुझाएका छन्। आयोजनाका लागि २१४ विपन्न वर्गका उपभोक्ताले स्थानीय सहकारी संस्थाबाट ऋण लिएर खानेपानीका लागि रकम बुझाएका थिए। रासस

प्रकाशित: ९ असार २०८२ ०८:२३ सोमबार

#NagarikNews #NepaliNews