प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले आज प्रधानमन्त्री निवास, बालुवाटारमा भेटेका छन्।
कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणलागयत मुद्दा उठाएर गत जेठ ४ गतेदेखि यात्रा सुरु गरेका बोहरा ३१औँ दिनमा यही असार ३ गते काठमाडौँ आइपुगेका थिए।
सोही दिन प्रधानमन्त्री ओलीलाई भेट्न खोजेका बोहराले प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण आज भेट पाएका हुन्। बोहराले प्रधानमन्त्री ओलीलाई आफूले अभियान र यात्राका क्रममा देखेका अनुभव, उपचार नपाएका बालबालिका आदिका समस्या र समस्या समाधानका लागि गरिएका पहलबारे अवगत गराए।
प्रधानमन्त्री ओलीले पवित्र भावका साथ अभियान सञ्चालन गर्न सुझाव दिँदै शरीरलाई धेरै दुःख नदिइ आफ्नो स्वास्थ्य र परिवारको पनि ख्याल गरेर अघि बढ्न आग्रह गरे।
प्रधानमन्त्री ओलीसँग भेटेपछि बोहराले आफ्ना कुराहरु सुनाउन पाएकामा खुसी व्यक्त गर्दै पहिलो चरणको अभियान पूरा नभएकाले अब जुत्ता लगाउने, दाह्री काटेर नयाँ स्वरुपमा अघि बढ्ने बताए।
प्रकाशित: ८ असार २०८२ १७:१८ आइतबार