समाज

भिटामिन डी कमीको ‘मौन महामारी’

यस्ताे पनि!

आत्महत्याबारे सोच्ने ६० प्रतिशत मानिसमा एउटा कुरामा समानता पाइन्छ। त्यो हो, भिटामिन डीको कमी। अमेरिकाको मिसिगन स्टेट युनिभर्सिटीको नयाँ रिपोर्टका अनुसार भिटामिन डीको कमीलाई पहिला खासै खतरनाक मानिदैनथ्यो तर भिटामिन डीको कमीका कारण मानसिक स्वास्थ्य समस्या र आत्महत्याको प्रवृत्ति बढाउनेमा अनुसन्धाताहरू विश्वस्त भएका छन्। अचेल भिटामिन डीको कमीलाई मौन महामारीसमेत भन्न थालिएको छ।

पहिलेको तुलनामा संसारभरका मानिसमा भिटामिन डीको कमी बढी देखिन थालेको छ। खासगरी खानपिन र सांस्कृतिक विश्वासका कारण यस्तो अवस्था आएको वैज्ञानिकहरूको भनाइ छ। खानामा माछा, अण्डाजस्ता भिटामिन डीले पूर्ण खान्कीमा ध्यान नदिँदा यस्तो समस्या बढ्न थालेको केहीको दाबी छ।

यसका अतिरिक्त अचेलका बालबालिकाहरूलाई छाला कालो हुन्छ भनेर पर्याप्त घाममा छाला नसेकाउने प्रवृत्तिले पनि भिटामिन डीको समस्या थपिएको बताइन्छ। खासगरी यस्तो समस्या गाउँमा भन्दा शहरी क्षेत्रमा बढी देखिएको छ। यसबाहेक प्रदूषण, परिवर्तित जीवनशैली, सनस्क्रिनको बढ्दो प्रयोग र सस्तो किसिमका सप्लीमेन्टको कमी पनि यसका कारक हुन्। शहरी क्षेत्रमा पर्याप्त घाम शरीरले पाउँदैन। बाहिर कमभन्दा कम समय मान्छेले बिताइरहेका छन्। त्यसमाथि हावामा प्रदूषणको स्तर बढ्दै जान थालेको छ।

भिटामिन डीको पर्याप्त स्तर स्वास्थ्यका लागि महत्त्वपूर्ण हुन्छ। यो कम हुँदा हाम्रो शरीरको प्रतिरक्षा प्रणाली, पाचन प्रणाली, मुटुको स्वास्थ्त्य र समग्र स्वास्थ्यलाई लामो समयसम्म नोक्सान पुर्‍याउँछ। यसको असर चिन्ताजनक रूपमा सर्वसाधारणलाई पारिरहेको छ र यसका बारेमा जागरुकताको कमीका कारण सर्वत्र यसलाई ‘मौन महामारी’ नामकरण गर्न थालिएको छ। अर्को मौन महामारी चाहिँ मानसिक स्वास्थ्य पनि हो।

पछिल्लो समय बढ्दो आत्महत्यामा भिटामिन डीको कमी पनि उत्तिकै जिम्मेवार रहेको विश्लेषकहरूको धारणा छ। भारतमा कलेजका विद्यार्थीहरूमा अवसाद, चिन्ता र आत्महत्याको विचार यति उच्च दरमा छ कि यसलाई कम गर्न कयौं कदम चालिएको छ। भारतको केन्द्र सरकारले त नेशनल वेलबिइङ कन्क्लेभ नै गर्दैछ।

भारतमा पछिल्लो एक दशकमा विद्यार्थीहरूमा भएको आत्महत्यामा कतै भिटामिन डीको कमी त छैन भन्ने नयाँ कोणबाट अनुसन्धान हुन थालेको छ। अन्य स्वास्थ्य जाँचजस्तै भिटामिन डीको नियमित जाँच हुनुपर्ने केहीको माग बढ्न थालेको छ।

भिटामिन डी पर्याप्त मात्रामा विद्यार्थीलाई दिन सके तिनको स्वास्थ्य समस्या समाधान हुने मात्र होइन, विद्यार्थीको उत्पादकत्व बढ्ने स्वास्थ्य अनुसन्धाताहरूको रहेको बिबिसीले जनाएको छ।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: ८ असार २०८२ ०९:०२ आइतबार

# Yasto Pani! # Nagarik