समाज

लागुऔषध दुरूपयोग तथा ओसापसारविरुद्ध सचेतना कार्यक्रम

हुम्लामा लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस सप्ताहव्यापी मनाइने भएको छ। बुधबार सरोकार भएका पक्षहरूको बैठकले दिवसलाई एक हप्तासम्म विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको हो।

यो दिवस असार ६ गतेदेखि १२ गतेसम्म मनाइँदैछ। जिल्ला प्रशासन कार्यालयमा सरोकार भएका पक्षबीच बसेको बैठकले असार ६ गते बिहान ७ बजे जिल्ला प्रहरी कार्यालयमा लागुऔषध नियन्त्रणसम्बन्धी अन्तर्क्रिया छलफल कार्यक्रम गर्ने जनाइएको छ। बैठकमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा सरोकार भएका निकायका प्रतिनिधिको उपस्थिति थियो।

सोही दिन जिल्ला प्रहरी कार्यालयले स्थानीय तहसँग समन्वय गरी विभिन्न विद्यालयमा लागुऔषध दुरूपयोगविरुद्ध जनचेतनामूलक कक्षा सञ्चालन, सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत वडा, टोल तहसम्म लागुऔषध दुरूपयोगका कारण, लक्षण र अभिभावकको दायित्व सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए।

जिल्ला ट्राफिक प्रहरीले सिमनाका तथा यातायातका साधनमा सप्ताहव्यापी रूपमा लागुऔषध ओसारपसार नियन्त्रण गर्न कडाइका साथ चकेजाँच गर्ने, सीमानाका लागुऔषध ओसारपसार हुने सम्भावित क्षेत्र भएकाले ती क्षेत्रलाई लक्षित गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, स्थानीय तहको नीति तथा कार्यक्रम र बजेटमा लागुऔषध दुरूपयोगविरुद्धको अभियानलाई मूलप्रवाहीकरण गर्न सबै स्थानीय तहलाई अनुरोध गर्ने, यो दिवस भव्य रूपमा स्थानीय तहस्तरमा मनाउन सबै सरोकार भएकालाई अनुरोध गर्ने र दिवसको अन्तिम दिन बिहान ११ बजे एयरपोर्ट चोकबाट र्‍याली निकालेर जिल्ला समन्वय समितिमा उपस्थित भई कार्यक्रमको समीक्षासहित समापन गर्ने तालिका रहेको प्रजिअ पाण्डेयले बताए।

प्रकाशित: ५ असार २०८२ १२:३५ बिहीबार

# District Coordination Committee # Nagarik # District Administration Office # Public awareness program