समाज

स्कुटर दुर्घटनामा छोराको मृत्यु, बाबु घाइते

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज दिउँसो स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने स्कुटरमा सवार अर्का एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा गोरखा नगरपालिका–१३ अगुवा देउरालीका २२ वर्षीय आसिकबाबु नराल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले बताए। घाइते नराललाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएकोमा चिकित्सकले दिउँसो २:१५ बजे मृत घोषणा गरेका थिए।

दुर्घटनामा स्कुटरमा सवार नरालका बाबु ४७ वर्षीय कृष्णप्रसाद नराल घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग२५प ४१३ नम्बरको स्कुटर अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको थियो। रासस

प्रकाशित: १ असार २०८२ १९:४३ आइतबार