नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई सीमित गर्न खोजेको आरोप लगाएका छन्।
अनलाइन मिडिया, युट्युब र पत्रकारितासँग सम्बन्धित समसामयिक विषयमा सूचना तथा सञ्चार मन्त्रालयले भरतपुरमा आइतबार आयोजना गरेको छलफल कार्यक्रममा उनले मिडियालाई नियमन गर्ने नाममा नियन्त्रणको प्रयास भइरहेको बताएका हुन्।
उनले पछिल्लो समय पत्रकार दिलभूषण पाठकलाई पक्राउ पुर्जी जारी गरेर सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको स्पष्ट भएको बताए। ‘युट्युब च्यानल दर्ता छैन भन्ने नाममा व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतालाई सीमित गर्न पाइँदैन,’ उनले भने, ‘अहिले सरकारले ल्याउन लागेको सामाजिक सञ्जाल विधेयक मिडियामैत्री छैन।’
यो विधेयक नेपाल पत्रकार महासंघलाई स्वीकार्य नभएको उनले प्रष्ट पारे। आचार्यले स्वरोजगारमूलक मिडियाहरू समस्यामा रहेको भन्दै तिनको स्थायित्वका लागि राज्यका सबै निकायले ध्यान दिनुपर्ने बताए।
सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले अनलाइन मिडिया र युट्युबलाई व्यवस्थित गर्न सबै पक्षसँग छलफल गरी सुझाव संकलन भइरहेको बताए। उनले सामाजिक सञ्जालमा आइरहेका नकारात्मक विषयवस्तुलाई नियन्त्रण गर्दै व्यवस्थित गर्न सबैको ध्यान आवश्यक रहेको उल्लेख गरे।
जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले सूचनाले विचारलाई सत्य र निष्पक्ष बनाउँदै समाज परिवर्तनमा भूमिका खेल्ने बताए। उनले सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्नु पत्रकारको जिम्मेवारी रहेको भन्दै राज्यका निकायले सहजीकरण गर्नुपर्ने बताए।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य विजयराज अधिकारीले मिडिया आचारसंहिता र काउन्सिलको भूमिकाबारे जानकारी दिए। पत्रकारहरूले आ-आफ्नो धारणा राखेका थिए। नेपाल पत्रकार महासंघ चितवन शाखाको समन्वयमा भएको कार्यक्रममा शाखा अध्यक्ष बसन्त पराजुलीले जिल्लामा पहिलोपटक मन्त्रालयको उपस्थितिमा अनलाइन मिडिया र युट्युबबारे छलफल भएको भन्दै धन्यवाद दिए।
प्रकाशित: १ असार २०८२ १९:२७ आइतबार