नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पत्रकार दिलभूषण पाठकविरुद्ध जारी भएको पक्राउ पुर्जीको भर्त्सना गरेका छन्।
प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा-पुत्र जयवीर देउवा र काठमाडौंको हिल्टन होटलसम्बन्धी एक भिडिओ बनाएको कारण पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो।
यसको विरोध गर्दै श्रेष्ठले भनेका छन्, 'समाचार प्रसारण गरेको आधारमा प्रतिष्ठित पत्रकार दिलभूषण पाठकलाई पक्राउ पूर्जी जारी गर्नु हुँदैन, निरङ्कुश ,असहिष्णु , प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य-मान्यता विरोधी निन्दनीय कार्य हो। यसको म तीव्र भर्त्सना गर्दछु र यो पक्राउ पुर्जी तत्काल खारेज गर्न माग गर्दछु।'
गलत सूचना दिने पत्रकारितालाई सच्याउनुपर्ने आवश्यकता भए पनि पक्राउ पुर्जी जारी गरिनु भने लोकतान्त्रिक नभएको भनाइ श्रेष्ठको छ। 'सञ्चारमाध्यममा कतिपय बेला अत्यन्त निराधार, गलत र गैरजिम्मेवार समाचार पनि प्रसारण हुने गरेका छन् र त्यस्तो पत्रकारितालाई सच्याउनु जरुरी छ। त्यस्ता पत्रकारलाई जिम्मेवार बनाउनु पनि पर्छ। तर, सम्बन्धित समाचार गलत हो र त्यसको प्रतिवाद गर्ने हो भने पनि खण्डन, अदालत वा प्रेस काउन्सिलको बाटो छाडेर पकाउ पूर्जी जारी गर्ने बाटोलाई भने किमार्थ सही ठहर्याउन सकिँदैन। यस्ता कार्य बन्द गरियोस्,' उनले फेसबूकमा लेखेका छन्।
प्रकाशित: २८ जेष्ठ २०८२ १७:०५ बुधबार