समाज

पिली बन्दै युद्ध पर्यटनस्थल

कालीकोटको खाँडाचक्र नगरपालिका–७ स्थित पिलीलाई युद्ध पर्यटन गन्तव्यका रूपमा विकसित गर्ने काम भइरहेको छ।भौगोलिक रूपमा पनि विकट मानिने कालीकोटको पिलीलाई पर्यटकीय गन्तव्य बनाउन युद्ध संग्रहालयलगायतका संरचना बनाउन लागिएको हो। द्वन्द्वकालमा राज्य पक्ष र विद्रोही माओवादीबिच भिडन्त भएको पिलीलाई संग्रहालय बनाउन कर्णाली प्रदेश सरकारको लगानीमा काम भइरहेको छ।

कर्णाली प्रदेश सरकारले संग्रहालय निर्माणका लागि बर्सेनि बजेट विनियोजन गर्दै आएको छ। प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत डिभिजन वन कार्यालय कालीकोटले युद्ध संग्रहालय निर्माणका लागि आवश्यक काम गरिरहेको छ। पिलीमा पर्यटन प्रवर्द्धन गर्न संग्रहालय निर्माण थालिएको खाँडाचक्र नगरपालिकाका–७ का अध्यक्ष दीपकराज कार्की शाहीले बताए।

‘नगरपालिकाले समेत संग्रहालय निर्माणमा सहयोग गरिरहेको छ,’ उनले भने, ‘प्रदेश सरकारको लगानीमा संग्रहालय बनिरहेको छ। यसबाट युद्ध स्थलको संरक्षणसँगै पर्यटन प्रवर्द्धन भई आन्तरिक आम्दानी बढाउन सहयोग हुनेछ।’ द्वन्द्वका बेला तत्कालीन शाही सेना र विद्रोही माओवादीका लडाकुबिच युद्ध भएको पिलीलाई युद्ध पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न स्थानीय सरकार र प्रदेश सरकार लागिपरेको उनले बताए। 

द्वन्द्वकालीन अन्तिम युद्ध लडिएको पिलीमा सबैभन्दा धेरै मानवीय क्षति भएको थियो। यहाँ २३ साउन २०६२ मा भिडन्त हुँदा दुवै पक्षका गरी एक सय तीन जनाको ज्यान गएको थियो। मुलुक संघीय संरचनामा नजाँदै तत्कालीन दाहा गाविस, जिल्ला विकास समिति, नागरिक तथा पर्यटन उड्डयन मन्त्रालयलगायत निकायबाट यहाँ विभिन्न काम भएको थियो।

आर्थिक वर्ष २०७६/७७ मा कर्णाली प्रदेश सरकारले पिलीलाई संग्रहालयका रूपमा विकास गर्न बजेट छुट्याएपछि डिभिजन वन कार्यालय कालीकोटले उपभोक्ता समितिमार्फत तीनवटा भवन र सात सय मिटर रेलिङसहितको बाटो निर्माण गरेको थियो। त्यसपछि कोरोना कहरका कारण बजेट विनियोजन हुन सकेन। पिलीलाई पर्यटकीय गन्तव्यका रूपमा विकसित गर्न गत आर्थिक वर्ष प्रदेश सरकारले आठ करोड रुपैयाँभन्दा बढी बजेट छुट्याएको थियो। 

पर्यटकको रोजाइमा पिली
पिली पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। कर्णाली राजमार्गको सुविधासँगै यहाँ पर्यटकीय क्षेत्र विस्तार भइरहेकाले आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन्। पिली अहिले ‘युद्ध पर्यटन’ का रूपमा परिचित हुन थालेको छ। पिली भिडन्त अध्ययन गर्नेका लागि पनि आकर्षणको केन्द्र बनेको छ। 

कर्णाली करिडोरसँगै जोडिएको र नेपालकै प्रमुख पर्यटकीय गन्तव्य राराताल र जुम्ला घुम्न आउने पर्यटक पिली पनि पुग्न थालेका छन्। द्वन्द्वकालीन अन्तिम युद्धको निसाना पिलीलाई पर्यटकीय गन्तव्य बनाउन २०७६ सालदेखि पूर्वाधार निर्माण भइरहेको छ। पिली रारा र जुम्ला जाने सडक नजिकै पर्ने भएका कारणले पनि आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्न थालेको खाँडाचक्र नगरपालिका प्रमुख कमलकुमार शाहीले बताए। ‘अहिले यो पर्यटकीय क्षेत्रका रूपमा विकसित भएको छ,’ उनले भने, ‘विगतमा यो केवल युद्धको चिनारीका रूपमा मात्र चिनिने गरेको थियो।’ 

भ्यु टावरलगायतका संरचना निर्माण 
डिभिजन वन कार्यालय कालीकोटमार्फत यहाँ विभिन्न पूर्वाधारका संरचना निर्माण भइरहेका छन्। कार्यालयका अनुसार युद्ध संग्रहालय, रेलिङसहितको करिब एक हजार नौ सय मिटर पैदलमार्ग, पौडी पोखरी, पार्किङ स्थल, प्रवेशद्वार, भ्युटावर, टिकट काउन्टर, बुट्यानसहितका दुईवटा चौतारा, शौचालयलगायत संरचना निर्माण भइसकेका छन्। अन्य संरचना पनि बन्दै छन्। संग्रहालय निर्माणको काम सम्पन्न भएको डिभिजन वन कार्यालय कालीकोटका इन्जिनियर प्रकाश सेजुवालले बताए। 

संग्रहालय निर्माणका लागि आर्थिक वर्ष २०७९ असार २३ गते ठेक्का सम्झौता भएको थियो। श्री कुशेश्वर कन्ट्रक्सन प्रालि काठमाडौंसँग डिभिजन वन कार्याललय कालीकोटले ठेक्का सम्झौता गरेको हो। ठेकेदार कम्पनीले संग्रहालय निर्माणको काम २०८४ असार २२ गतेसम्म सम्पन्न गरिसक्नुपर्नेमा आव २०८१/८२ मै सकाएको छ। सम्झौता अगाडि नै निर्माण सम्पन्न भएको जिल्ला डिभिजन वन कार्यालयले जनाएको छ। ६ करोड ८९ लाख ९९ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो। 

प्रकाशित: २७ जेष्ठ २०८२ ०७:०५ मंगलबार

#NagarikNews