नेपाली सेनाका सहायक रथि रोशन खड्कामाथि अनुसन्धान गर्न कोर्टमार्सल (सैनिक अदालत) गठन भएको छ।
सैनिक कल्याणकारी कोषको सवा २ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा उनीमाथि कोर्ट मार्सल सुरु भएको हो। कल्याणकारी कोषको रकम हिनामिना भएको प्रारम्भिक अनुसन्धानपछि थप अनुसन्धानका लागि सैनिक अदालत गठन भएको हो। सहायक रथि (ब्रिगेडियर जनरल) रोशन खड्का र सेनानी (मेजर) बोधराज कार्कीलाई सैनिक हिरासतमा राखेर अदालती प्रकृया सुरु भएको हो।
कोषको रकम हिनामिनामा संलग्न रहेका तर अवकाश भइसकेका अन्य दुई जनाविरुद्ध भने जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो। ती मध्ये जमदार आत्माराम थापा पुर्पक्षका लागि थुनामा छन्। कोषको सात करोड रुपैयाँ हिनामिना भएको सन्दर्भमा सेनाभित्र छानबिन चलिहरेको छ।
कल्याणकारी निर्देशनालयअन्तर्गत आवास तथा बीमा शाखामा आर्थिक वर्ष २०७८/७९ र ०७९/८० मा अनियमितता विषयमा महासेनानी उत्तम सापकोटाको नेतृत्वमा ‘कोर्ट अफ इन्क्वाइरी बोर्ड’ गठन गरेर छानबिन थालिएको थियो। कोर्ट अफ इन्क्वाइरीको क्रममा २ करोड २१ लाख ५ हजार ५१५ रुपैयाँ ४ पैसा हिनामिना गरेको दाबी सेनाको छ।
२०७४ कात्तिक १३ देखि २०७५ भदौ २६ गतेसम्म १४४ थान चेकबाट एक करोड ४७ लाख २१ हजार ३२९ रुपैयाँ ८८ पैसा र २०७३ फागुन ९ गतेदेखि २०७५ असोज १७ गतेसम्म ४० थान चेकबाट ४७ लाख ६४ हजार १८५ रुपैयाँ ६० पैसा हिनामिना गरेको आरोप छ।
‘कोर्ट अफ इन्क्वाइरी पछि आवास तथा बिमा शाखामा कार्यरत सेनानी समीर गुरुङ, प्युठ टीकाराम गोतामे र जमदार रवीन्द्र लुंगेलीको मिलेमतोमा आर्थिक अलपचन भएको प्रारम्भिक निष्कर्ष निकालेको थियो। गुरुङ भने विदेश पुगिसकेको स्रोतले जनाएको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथि राजाराम बस्नेतले सहायक रथि खड्कालाई सैनिक अनुशासन सम्बन्धमा अनुसन्धान भैरहेको बताए। ‘उहाँलाई सैनिक अनुशासनको बारेमा अनुसन्धान भैरहेको हो,’ सैनिक प्रवक्ता एवं सहायक रथि बस्नेतले भने।
प्रकाशित: २६ जेष्ठ २०८२ १३:२४ सोमबार