समाज

बिरामीको चाप बढेपछि बीपी क्यान्सर अस्पतालमा नयाँ फार्मेसी

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ औषधि पसल (फार्मेसी) थपिएको छ। यसअघि दुईवटा फार्मेसी सञ्चालनमा थिए। बिरामीको चाप बढेपछि नयाँ फार्मेसी थप गरिएको अस्पतालले जनाएको छ।

अस्पतालका उपनिर्देशक डा. उमेश नेपालका अनुसार डेकेयरमा नयाँ फार्मेसी शाखा विस्तार गरिएको छ। भर्ना नगरी केमोथेरापी लिनुपर्ने बिरामी डेकेयरमा आउने गर्छन्। ‘डेकेयरमा आउने बिरामीलाई औषधि किन्न असहज भएपछि शाखा विस्तार गरिएको हो,’ उनले भने।

उनका अनुसार ओपीडी फार्मेसीबाट बीमामार्फत र नगदमा औषधि खरिद गर्न सकिन्छ। अन्तरंग भवनभित्र विपन्नसहित नगदमा चौबिसै घण्टा खुला रहने फार्मेसी सञ्चालनमा छ।

डेकेयर फार्मेसीबाट पनि विपन्नमार्फत र नगदमा औषधि खरिद गर्न सकिन्छ। भर्ना नभई केमोथेरापी लिने बिरामीलाई लक्षित यो फार्मेसी बिहान ७ देखि साँझ ५ बजेसम्म खुला रहन्छ।

अस्पताका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले बिरामीलाई औषधि किन्न पालो कुर्नुपर्ने बाध्यता कम गर्न नयाँ फार्मेसी सञ्चालन गरिएको बताए। ‘छिट्टै शल्यक्रिया कक्ष र सघन उपचार कक्षलाई सहज हुने गरी अर्को फार्मेसी सञ्चालन गर्ने तयारी छ,’ उनले भने।

प्रकाशित: २६ जेष्ठ २०८२ ११:४२ सोमबार

#NagarikNews