समाज

नागढुंगा-नौबिसे सडकखण्डको काम सकिएन, थप पाँच दिन बन्द रहने

फाइल तस्बिर

त्रिभुवन राजपथअन्तर्गत नागढुंगा-नौबिसे सडक खण्ड थप पाँच दिन दिउँसोको समयमा बन्द रहने भएको छ । नागढुंगा-पिप्लामोड खण्डको १८ सय मिटर सडक स्तरोन्नतिका लागि भन्दै स्थानीय प्रशासनले दिउँसोको समयमा यातायात सञ्चालनमा रोक लगाएको हो ।

नागढुंगा-मुग्लिङ सडक योजना (पुर्वी खण्ड)ले आइतबार एक सूचना निकालेर यातायात बन्दको समय बढाएको जानकारी दिएको हो । उक्त खण्ड गत जेठ १० गतेदेखि आज जेठ २५ गतेसम्म बिहान १०ः३० देखि अपराह्न ३ बजेसम्म बन्द हुँदै आएको थियो । सडक आयोजनाले सोही समयमा थप पाँच दिन यातायात सञ्चालनमा रोक लगाइएको उल्लेख गरेको छ ।  

योजनाले साना तथा मझौला सवारी साधनका लागि सीतापाईला-रामकोट-धार्के सडक तथा सामाखुशी-टोखा-छहरे-त्रिशुली-गल्छी सडक प्रयोग गर्न पनि अपिल गरेको छ । यस्तै काठमाडौंबाट नौबिसेतर्फ जाने सवारी साधन नागढुंगा चेकपोष्टमा र काठमाडौंतर्फ आउने सवारी साधन खानीखोला बजारमा रोकिने जानकारी पनि योजनाको सूचनामा उल्लेख छ । 

प्रकाशित: २५ जेष्ठ २०८२ १८:२४ आइतबार

#NagarikNews