समाज

मकालु हिमालमा फहराइएको ब्यानर हस्तान्तरण

तस्बिर: विजय राई/नागरिक

विश्वको पाँचौंसर्वोच्च शिखर मकालु हिमालमा फहराइएको “ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट आफू बचौं र अरूलाई पनि बचाऔं” भन्ने नारा अंकित सन्देशमूलक ब्यानर काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीचसोही कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई मकालु हिमाल आरोही दोलखा गौरीशङ्कर गाउँपालिका-९ बस्ने दाबुटी शेर्पाले उक्त ब्यानर हस्तान्तरण गरेकी हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले मकालु हिमालको सफतलापूर्वक आरोहण गरी सडक सुरक्षा र ट्राफिक नियमको पालना सम्बन्धी सन्देश विश्व सामु पुर्‍याएको बधाई तथा शुभकामना व्यक्त गरे।

यस्ता प्रयासले सडक सुरक्षाको महत्वलाई प्रचार गर्नुका साथै ट्राफिक नियमको पालना गर्न र दुर्घटना न्यूनीकरण गर्न सहयोग पुर्‍याउने उनलेर विचार राखे।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक तामाङ लगायत उपस्थित प्रहरी अधिकृतहरूले आरोही दाबुटीलाई खादा ओढाई सम्मान समेत गरेका थिए।

तस्बिर: विजय राई/नागरिक

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्दै उक्त कार्यक्रममा आरोही दाबुटी शेर्पाले आरोहणका क्रममा भोगेका अनुभव सहितको मन्तव्य व्यक्त गरे। कार्यक्रममा आरोही दाबुटीको जिवनी र हिमाल आरोहण सम्बन्धी वृत्तचित्र समेत प्रस्तुत गरेकी थिइन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रदान गरेको उक्त सन्देशमूलक ब्यानर शेर्पाले सन् २०२५ मे २९ मा मकालु हिमालको सफलतापूर्वक आरोहरण गरी शिखरमा फहराएकी थिइन्।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरूलगायत प्रहरी अधिकृत तथा जवान एवम् सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: २२ जेष्ठ २०८२ १९:१७ बिहीबार