समाज

तस्करी धन्दाको अनौठो संयोग: सधैँ माल मात्रै समातिन्छ, तस्कर कहिल्यै समातिन्न

तस्कर गिरोहले पर्साका नाकाहरूबाट दिनहुँ करोडौँ मूल्य बराबरको परिमाणमा भारतबाट भन्सार छलीका वस्तु भित्र्याउँछन्। तीमध्ये आक्कल–झुक्कल सामग्री सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण र मातहतका युनिटले समात्छन् पनि। तर, तस्कर कारोबारी भने अक्सर समातिएको खबर आउन्न। यही कारण सशस्त्र प्रहरीमाथि तस्कर छोड्ने गरेको आरोप लागिरहन्छ।  

सुरक्षाकर्मीसँगको सेटिङ्गमै तस्करी हुने गरेको आरोप पनि लाग्ने गरेकै छ। यस्तोमा केही मात्रामा समातिने भन्सार छलीको माल बरामद हुनु र तस्कर नसमातिनुले त्यो आरोपलाई मलजल गर्छ।  स्वयं तस्करीमा संलग्न गिरोहका सदस्यको कुरा मान्ने हो भने सुरक्षाकर्मीसँग सेटिङ गरेको माल भित्रिने र सेटिङ नभएको माल मात्रै पक्राउ पर्छ।  

जेठ २० गते मात्रै सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्साले भन्सार छली गरेर भित्रिएको ठुलो परिमाणमा कपडा नियन्त्रणमा लियो। उक्त कपडा सात लाख ३९ हजार ९५० रुपैयाँ बजार मूल्यको रहेको गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक(डिएसपी) देवेन्द्रबहादुर सिंह बताउँछन्। 

जेठ १६ गते वीरगन्ज महानगरपालिका–१६ नगवा गाउँस्थित डम्पिङ साइटबाट सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको टोलीले ४ वटा साइकलमा लोड हुँदै गरेको मोबाइल पार्ट्स, फुटबल सुज, लेडिज तथा जेन्ट्स सुज लगाएका समान नियन्त्रणमा लियो। 

यी दुवै घटनामा तस्कर पक्राउ परेन। पछिल्लो घटनामा मोटरसाइकलमा रहेका भरियाहरू प्रहरी देख्दा समान नै छाडेर भागेको बताइएको छ। 

सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक(एसपी) राधेश्याम धिमालले सीमामा हुने तस्करीमा कडाइका साथ निगरानी भइरहेको दाबी गर्छन्। यद्यपि दिनहुँ जसो ठुलो परिमाणमा हुने तस्करीको सामग्री नियन्त्रणमा ल्याउन चुनौतीपूर्ण काम रहेको उनले बताए। 

तस्कर किन पक्राउ गर्न नसकेको? भन्ने प्रश्नमा एसपी धिमालले प्रहरी देख्नासाथ तस्कर भागिहाल्ने भएकोले पक्राउ गर्न कठिनाइ हुने तर्क गरे। सँगै केही तस्कर भने नियन्त्रणमा लिएर कारबाहीका लागि भन्सार कार्यालय पठाइएको उनी दाबी गर्छन्।  

प्रकाशित: २२ जेष्ठ २०८२ १८:०३ बिहीबार

#Smugglers on the border